•  १५ बैशाख २०८१, शनिबार
  •  1:20:58 PM

कर्णाली पुलबाट हाम फालेका १७ मध्ये एक बेपत्ता, शाहीको बिहानैदेखि थालियो खोजी

- चैत्र १३, २०८० मा प्रकाशित


काठमाडौँ । कर्णाली पुलबाट हाम फाल्दा बेपत्ता भएका कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीका लोकेन्द्रबहादुर शाहीको आज (मंगलबार) बिहानैदेखि खोजी शुरु भएको छ ।

होली खेलेर आएका १७ जना युवाले हिजो (सोमबार) कैलालीको चिसापानी कर्णाली पुलबाट एकपछि अर्को गर्दै हाम फालेका थिए । तीमध्ये ३० वर्षका शाही बेपत्ता भएका छन् । हिजो बेलुका अबेरसम्म खोजी गरिएको तर नभेटिएपछि रोकिएको खोजी कार्य आज बिहानैदेखि शुरु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कैलाली प्रहरी प्रमुख एसपी पदम विष्टका अनुसार खोजीका लागि हिजो डुङ्गा र गोताखोर प्रयोग गरिएको थियो । युवाहरूले सामुहिक रुपमा हाम फालेको सामाजिक सञ्जालमा आएको भिडियोमा देखिन्छ ।

इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरीराम डाँगीले शाहीको खोजी भइरहेको बताएका छन् । उनका अनुसार सोमबार दिउँसो माथिल्लो शरीरको कपडा फुकालेर सडकमा हिँडिरहेका युवाको उक्त समूहलाई चिसापानी प्रहरीले कर्णाली पुल वारी नै रोक्ने खोजेको थियो । तर सामुहिक तस्विर खिच्ने भन्दै उनीहरू जबरजस्ती अघि बढेको प्रहरीले जानकारी दिएको छ ।

‘उहाँहरूलाई ड्युटीमा रहेको प्रहरीले रोक्न खोजेको रहेछ तर साथीभाइ धेरै दिनपछि भेटिएकाले पुलमा फोटो खिचेर फर्किन्छौं भन्दै जबरजस्ती अघि बढ्नु भएछ,’ डाँगीले भने, ‘नदीमा हाम फाल्दाको अवस्थाबारे सूचना थिएन । हराइसकेपछि मात्र खबर पाएका हौं । तत्काल उद्धारको प्रयास गरिएको थियो तर सकिएन ।’

Comments

सम्बन्धित खवर