•  १५ बैशाख २०८१, शनिबार
  •  4:31:42 PM

होलीको विवादमा ललितपुर ढोलाहिटीमा ‘ग्याङ फाइट’, दुई जनाको हत्या

- चैत्र १२, २०८० मा प्रकाशित


काठमाडौं । ललितपुरको ढोलाहिटीमा दुई जनाको हत्या भएको छ । होली खेल्ने क्रममा विवाद हुँदा गए राति ९ बजे दुई समूहबीच ‘ग्याङ फाइट’ हुँदा दुई जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा २८ वर्षका रोवश राई र ३० वर्षका पुजन राई रहेको प्रहरीले जनाएको छ । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । घटनामा संलग्न भएको आशंकामा १८ जनालाई नियन्त्रणमा लिएको ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । मृतक युवाको छात्ती र तिघ्रामा छुरा प्रहार गरेको गहिरो घाउ छ । रोवशको पाटन अस्पताल र पुजनको सुमेरु अस्पतालमा मृत्यु भएको एसपी सुवेदीले जानकारी दिए ।

‘हामीलाई राति ११ बजे खबर आएपछि हाम्रो टोली घटनास्थलमा पुगेको हो,’ एसपी सुवेदीले सुनाए, ‘त्यतिञ्जेलसम्म अस्पताल पुर्‍याइएका दुबै युवाको मृत्यु भइसकेको थियो ।’ पाँचथर घर भएका पुजन ललितपुरको खुमलटारमा बस्थे । धरान घर भएका रोवश ढोलाहिटीमै डेरामा बस्ने गरेको प्रहरीले जनाएको छ ।

‘उनीहरुबीच के निहुँमा ग्याङ फाइट भयो खुलेको छैन,’ एसपी सुवेदीले भने, ‘हामी सीसी क्यामेराको सहायतामा घटनाको विस्तृत अनुसन्धान गरिहेका छौँ । पक्राउ परेका १८ जनालाई पनि सोधपुछ गरिरहेका छौँ ।’ मृतक दुई युवा र पक्राउ परेका १८ जना होली खेलेको हुलियामा छन् । उनीहरुबीच होली खेल्ने क्रममा विवाद भएर ग्याङ फाइट भएको आशंका प्रहरीले गरेको छ ।

Comments

सम्बन्धित खवर