•  १५ बैशाख २०८१, शनिबार
  •  12:12:10 PM

माल्दिभ्सविरुद्ध नेपाल १३८ रनले विजयी, अविनाशले लिए ६ विकेट

- आश्विन १४, २०८० मा प्रकाशित


काठमाडौं । चीनको होङझाउमा जारी १९औं एशियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाली टोलीले माल्दिभ्सविरुद्ध १३८ रनको फराकिलो जित हात पारेको छ । आइतबार चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २१३ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स १९.४ ओभरमा ७४ रनमै समेटियो । माल्दिभ्सविरुद्ध नेपालका अविनाश बोहराले ६ विकेट लिए ।

घातक बलिङ गरेका अविनाशले ३.४ ओभरमा ११ रन मात्र खर्चिए । कुशल भुर्तेल, सोमपाल कामी, सन्दीप लामिछाने र गुल्सन झाले समान एक विकेट लिए । माल्दिभ्सका मुआभिएथ गानीले सर्वाधिक ३६ रन बनाए । राहिद रसामले १२ र फरिद सियुसले १० रनको योगदान गरे । अरू खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको नेपाली टोलीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१२ रन बनाएको थियो ।

कप्तान रोहितकुमार पौडेलले २७ बलमा तीन चौका र तीन छक्कासहित ५२ रन बनाए । कुशल मल्ले २० बलमा तीन चौका र दुई छक्कासहित अविजित ४७ रन जोडे । ओपनर कुशल भुर्तेल र सन्दीप जोराले समान ३५ रन थपे । विनोद भण्डारीले १३ रन बनाए । माल्दिभ्सका नजवान इस्माइलले तीन विकेट लिए । नासिर नैल इस्माइल, मोहम्मन मिउभान र थोलाल मोहम्मद रायाले समान एक विकेट लिए । नेपालले यसअघि प्रतियोगिताको पहिलो खेलमा मंगोलियाविरुद्ध २७३ रनको कीर्तिमानी जित निकालेको थियो ।

Comments

सम्बन्धित खवर