•  १४ बैशाख २०८१, शुक्रबार
  •  4:55:07 PM

झापामा हात्ती नियन्त्रणका लागि १५ किलोमिटर विद्युतीय तारबार

- माघ ९, २०७९ मा प्रकाशित


झापा । झापामा जङ्गली हात्ती नियन्त्रणका लागि दुई क्षेत्रमा विद्युतीय तारबार (सोलार फेन्सिङ) को काम भइरहेको छ । झापाको मेचीनगरस्थित चारआली वन क्षेत्रमा छ किलोमिटर र मागुरमाडी सामुदायिक वन क्षेत्रमा नौ किलोमिटर गरी १५ किलोमिटर विद्युतीय तारबारको काम भइरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोसी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले जानकारी दिए ।

त्यसमध्ये चारआली वन क्षेत्रको छ किलोमिटर विद्युतीय तारबारको काम सकिएको छ । दुवै वन क्षेत्रमा आगामी चैतसम्म काम सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता गरिएको छ । भ्याटबाहेक रू दुई करोड ३५ लाख १५ हजारको लागतमा दुई वनमा विद्युतीय तारबारको काम भइरहेको हो । नेपाल सरकारको लगानीमा प्रकृति संरक्षण कोषमार्फत काम भइरहेको प्रमुख गौतमले बताए । यहाँ जडान गरिएको ‘अफसेट’ सोलार प्यानलको विद्युतीय तारबार हूलमा आउने हात्ती नियणन्त्रका लागि प्रभावकारी हुने उनको भनाइ छ ।

‘हात्तीको मनोविज्ञानलाई अध्ययन गरी यो प्रविधि निर्माण गरिएको छ, बाहुनडाँगीमा जडान गरिएको यही प्रविधि हो’, उनले भने, ‘त्यहाँ ६-७ वर्ष राम्रो काम गर्‍यो, हूलमा आउने हात्ती नियन्त्रणका लागि झापामा यो सफल मोडल मानिन्छ ।’ अन्यको तुलनामा यो विद्युतीय तारबारभन्दा केही महँगो रहेको छ ।

हात्ती संरक्षणसँगै मानव बस्ती जोगाउने उद्देश्यले विद्युतीय तारबार निर्माण गरिएको हो । झापा, मोरङ र सुनसरीमा हात्ती नियन्त्रणका लागि काम भइरहेको प्रमुख गौतमले बताए । टुक्रा–टुक्रामा सोलार फेन्सिङको काम हुँदा हात्ती नियन्त्रणको काम प्रभावकारी हुन सकेको छैन । जलथलदेखि चुरेसम्म एकै पटक सोलार फेन्सिङको काम हुन सके प्रभावकारी हुने प्रमुख गौतम बताउँछन् । ‘वनसँगै बीचबीचमा रहेको बस्ती चुनौतीका रुपमा रहेको छ’, उनले भने, ‘त्यसले मानव–हात्ती द्वन्द्व न्यूनीकरण हुन सकेको छैन ।’

झापा, मोरङ र सुनसरीमा बर्सेनि पाँच-छवटा हात्ती करेन्ट लागेर मर्ने गरेका छन् । त्यसमा पनि झापामा हात्तीको मृत्यु संख्या धेरै छ । पछिल्लो समय झापामा तीन हात्तीको मृत्यु भएको छ । हात्तीलाई ठूलो क्षेत्रफल र धेरै आहार चाहिने तर यहाँका वनमा पर्याप्त हात्तीको आहारा नहुँदा बस्ती पस्ने गरेका छन् । त्यसका कारण जनधनको क्षति हुने गरेको छ ।

वन क्षेत्रमा हात्तीले मन पराउने बाँस, जङ्गली केरा, सिसौ, सिमललगायत वनस्पति लगाए हात्ती नियन्त्रणमा टेवा मिल्ने प्रमुख गौतमले बताए । सामुदायिक वनसँगको सहकार्यमा जलथल र मागुरमाडी वनमा हात्तीले मन पराउने वनस्पति लगाउन थालिएको प्रमुख गौतमले बताए ।

Comments

सम्बन्धित खवर