•  १४ बैशाख २०८१, शुक्रबार
  •  8:59:09 AM

लेटाङबाट हराएका तीन जना बालिका विराटनगरमा भेटिए 

- भाद्र २७, २०७९ मा प्रकाशित


इटहरी । मोरङको लेटाङबाट हराएका तीन जना बालिका विराटनगर महानगरपालिका–१४ जतुवामा भेटिएका छन् ।लेटाङ नगरपालिका–४ की १४ वर्षीया सविना राई, १२ वर्षीया अनुष्का राई र लेटाङ–३ की १३ वर्षीया रक्षा दर्नाललाई आइतबार बिहान ११ बजेतिर फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार फुटबल हेर्न भनेर शनिबार बिहान ११ बजेतिर घरबाट निस्किएका तीनै जना घर फर्किएनन् । उनीहरु विराटनगर–१४ जतुवास्थित देवी राईको घरमा भेटिएका हुन् ।

देवी राई सविनाकी आमा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आमा देवीले १२ वर्षअघि दोस्रो बिहे गरेपछि सविना हजुरआमासँग बस्दै आएकी थिइन् । बुवा अशोक राईले पनि अर्को बिहे गरिसकेका छन् । 

आमालाई भेट्न सविना विराटनगर आउँदा अरु दुई जना साथीहरु पनि सँगै आएको पाइएको प्रहरीले जनाएको छ । घरबाट फुटबल हेर्न भनेर हिँडेका तीनै जनाले आफूहरु विराटनगर आएको जानकारी नगराएपछि अभिभावकले खोजी तीव्र पारेका थिए । 

डिएसपी श्रेष्ठका अनुसार प्रहरीले घटनाका बारेमा आइतबार बिहान मात्रै जानकारी पाएको हो । सम्पर्कविहीन भएको २४ घण्टापछि तीनै जनालाई सकुशल फेला पारेर अभिभावकको जिम्मा लगाइएको उनले बताए । तीनै जना बालिका लेटाङकै शान्ति भगवती माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययरत छन् । 

Comments

सम्बन्धित खवर