•  १४ बैशाख २०८१, शुक्रबार
  •  10:53:42 AM

मुकेश अम्बानीले कान्छा छोरालाई किनिदिए दुबईको सबैभन्दा महंगो घर

- भाद्र ११, २०७९ मा प्रकाशित


पाम जुमेरास्थित दुबईको सबैभन्दा महंगो घर भारतीय अर्बपति मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजले किनेको खुलासा भएको छ। यही वर्ष सो भिला ८ करोड डलरमा बिक्री भएको थियो।

अम्बानीले आफ्ना कान्छा छोरा अनन्तलाई सो घर किनिदिएको यसबारे जानकार व्यक्तिहरुले बताए। सो घर पाम जुमेराको उत्तरी भागमा छ। जसमा १० बेडरुम, एक स्पा, इनडोर र आउटडोर स्विमिङ पुल समेत छ।

दुबई पछिल्लो समय अति धनीहरुका लागि आकर्षक बजार बन्न थालेको छ। सरकारले पनि उनीहरुलाई ‘गोल्डेन भिसा’ दिनुका साथै विदेशीलाई सम्पत्तिको स्वामित्व दिने नियम खुकुलो पारेर आकर्षित गरिरहेको छ।अम्बानीका छिमेकीमा अभिनेता शाहरुख खान र बेलायती फुटबलर डेविड बेकह्याम पनि छन्।

अम्बानीको ९३ अर्ब डलर सम्पत्तिका तीन वारेसमध्ये एक हुन् अनन्त। ६५ वर्षका अम्बानी विश्वका ११ औँ धनी व्यक्ति हुन्। उनले आफ्नो कम्पनीको लगाम विस्तारै छोराहरुलाई दिन थालेका छन्। 

अम्बानीका तीनै सन्तानले युरोप र अमेरिकामा घर किनेका छन्। जेठा छोरा आकाशका लागि झण्डै ८ करोड डलरमा बेलायतमा गत वर्ष उनले घर किनिदिएका थिए। आकाशलाई हालै उनले रिलायन्स जिओको अध्यक्ष बनाएका छन्। 

आकशकी जुम्ल्या इसा पनि न्युयोर्कमा घर खोजिरहेकी छन्।अम्बानी आफैँ भने प्रायः मुम्बईको २७ तले एन्टिलियामा बस्छन्। जहाँ तीन हेलिप्याड, १६८ कारका लागि पार्किङ र ५० सिटको थिएटर तथा ९ एलिभेटर छन्।

मानवनिर्मित पाम जुमेरामा विलासी घरका अलावा आलिशान होटल, क्लब, स्पा र रेस्टुराँहरु पनि छ। जुन २००१ बाट बनाउन सुरु गरिएको थियो। २००७ देखि त्यहाँ मानिस बस्न थालेका थिए।दुबईको रियल स्टेट बजार सात वर्षपछि लयमा फर्केको छ। कसैले २० लाख दिरामभन्दा बढीको सम्पत्ति किने उसले सोझै १० वर्षे भिसा पाउँछ। 

Comments

सम्बन्धित खवर