•  १७ बैशाख २०८१, सोमबार
  •  7:17:12 AM

अनिच्छित गर्भपतन गराउँदा नवीनाको मृत्यु, परिवारलाई साढे २७ लाख क्षतिपूर्ति

- श्रावण २१, २०८० मा प्रकाशित


चितवन । चितवनको मनकामना अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि परिवारलाई क्षतिपूर्ति दिइएको छ । अस्पतालले २७ लाख ५० हजार क्षतिपूर्ति दिएपछि परिवारले मृतकको शव उठाएका छन् ।

भरतपुर महानगरपालिका वडा नं २६ की ३५ वर्षीया नवीना महतोको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको थियो । मृतकका पति मणिकलाल महतोका अनुसार गत बिहीबार अनिच्छित गर्भपतनका लागि अस्पताल ल्याइएको थियो । अत्यधिक रक्तश्रावका कारण उनको शुक्रबार राति १ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको थियो ।

मृतकका आफन्तले अस्पतालले गल्ती स्वीकार गर्नुपर्ने बताउँदै आएका थिए । सहमतिपछि अस्पतालले शनिबार नै २७ लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ । वार्तामा सहभागी अस्पतालका चिकित्सकका अनुसार सहमतिपछि परिवारले शव उठाएका हुन् ।

नवीनाको मृत्युपछि आज बिहानैबाट मृतकका आफन्तले अस्पताल घेराउ गरेका थिए । उच्च रक्तश्रावपछि शल्यक्रिया गरेर पाठेघर झिकिएको भए पनि बचाउन नसकिएको हो । परिवारले पाँच वर्षकी छोेरीको पढाइका लागि रकम माग गरेपछि अस्पतालले सो रकम दिएको हो ।

Comments

सम्बन्धित खवर