•  १७ बैशाख २०८१, सोमबार
  •  6:33:15 AM

काेशी प्रदेशमा नियन्त्रण बाहिर लम्पी स्क्रिन : २ लाख १४ हजार बढि पशुमा संक्रमण : ४८१४ पशु मरे

- श्रावण ९, २०८० मा प्रकाशित


इटहरी । कोशी प्रदेशमा पशु चौपायामा लाग्ने संक्रामक रोग लम्पी स्किनको महामारी फैलिएको लामो समय भइसकेको छ । तर, यसको नियन्त्रण अझै सम्भव भएको छैन । किसानका गोठ नै रित्तिने गरी संक्रमणले महामारीको रूप लिँदा पनि नियन्त्रणका लागि सरकार उदासिन देखिएको छ । रोग नियन्त्रण गर्न तीनै तहका सरकार असफल देखिएका छन् ।

लम्पी स्किनले पशु संक्रमित हुँदा कोशी प्रदेशमा हजारौं किसान प्रभावित बनेका छन् । कोशीमा हालसम्म २ लाख १४ हजार ६ सय ४५ भन्दा बढी पशु संक्रमित भएका छन् । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका अनुसार हालसम्म १ लाख १२ हजार ८ सय ५७ गाई गोरु र १ लाख ७ हजार ८८ भन्दा धेरै भैंसी राँगामा यसको संक्रमण पुष्टि भइसकेको छ । लम्पी स्किनकै कारण ४ हजार ८ सय १४ वटाभन्दा बढी पशु मरिसकेका छन् । यो असार अन्तिमसम्मको तथ्यांक हो ।

प्रदेशमा हालसम्म १ लाख ३ हजार ७ सय ७१ पशुलाई संक्रमणविरुद्धको खोप लगाइएको छ । संखुवासभा, तेह्रथुम र भोजपुरमा खोप कार्यक्रम पुग्न सकेको छैन । खोप पुगेका स्थानमा पनि पर्याप्त छैन । प्रदेशका १४ वटै जिल्ला लम्पी स्किनबाट प्रभावित छन् ।प्रदेशभरि हालसम्म २ लाख १४ हजार ६ सय ४५ पशु संक्रमित हुँदा १ लाख ३ हजार ७ सय ७१ पशुलाई मात्रै खोप लगाइएको हो । संक्रमितमध्ये आधा पनि पशुले खोप पाएका छैनन् । खोपको उपलब्धताको अवस्थाले पनि संक्रमण नियन्त्रण प्रभावकारी हुन नसकेको देखाउँछ ।

पाँचथरमा सबैभन्दा धेरै पशु संक्रमित भएका छन् । ३२ हजार ९ सय ६२ पशु संक्रमित हुँदा पाँचथरमा ३ सय ७६ वटाको मृत्यु भइसकेको छ । संक्रमणका कारण मृत्यु हुने पशुको संख्या इलाममा धेरै छ । इलाममा हालसम्म १ हजार ३ सय ८२ पशु मरिसकेका छन् । ३१ हजार ३ सय ४९ वटा पशुमा संक्रमण पुष्टि भइसकेको छ ।

धनकुटामा २१ हजार ५ सय ५८, झापामा २० हजार ९ सय २५, उदयपुरमा २० हजार ८ सय ९९, मोरङमा १९ हजार ८ सय ६९, सुनसरीमा १६ हजार २ सय ४४, तेह्रथुममा १५ हजार ९ सय ८६, संखुवासभा १३ हजार, खोटाङमा १० हजार ३ सय २४, ताप्लेजुङमा ६ हजार ९ सय २, भोजपुरमा ६ हजार ६ सय १९, ओखलढुंगामा ६ हजार ३ सय ३ र सोलुखुम्बुमा ७ सय ५ वटा पशुमा संक्रमण यकिन भइसकेको छ ।
संक्रमणले झापामा ५ सय ४, मोरङमा ४ सय २९, उदयपुरमा ३ सय ७६, सुनसरीमा ३ सय ४३, खोटाङमा २ सय ७९, धनकुटामा २ सय ७५, संखुवासभामा २ सय ७२, ओखलढुंगामा २ सय २, तेह्रथुममा १ सय ४४, ताप्लेजुङमा १ सय २५, भोजपुरमा ७२ र सोलुखुम्बुमा ३५ पशु मरिसकेका छन् ।

गोठका गाईवस्तु मरेर किसानले ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आइरहँदा तीनै तहका सरकार संक्रमण नियन्त्रणमा उदासिन देखिएका छन् । कृषकको गोठ नै रित्तिने अवस्था आउँदा पनि सरकारमा एकअर्काबीच प्रभावकारी समन्वयको अभाव देखिएको छ । पीडाले किसान छटपटाइरहँदा सरकार रमिते बनेको छ । भोजपुरको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले लम्पी स्किन नियन्त्रणमा केन्द्र र प्रदेश सरकारको कुनै भूमिका नदेखिएको बताए । ‘माथिका सरकारले कुनै सहयोग नगरेपछि स्थानीय स्तरमै नियन्त्रणको प्रयास गर्यौं । सीमित स्रोत हुने हुँदा पालिकाको प्रयासले मात्रै नियन्त्रण सम्भव हुन सकेन,’ उदासले भने, ‘सुरुमा महामारीको रूप लिएको संक्रमण अहिले केही मत्थर भएजस्तो छ । तर, पूर्ण रूपमा नियन्त्रण हुन सकिरहेको छैन ।’

प्रदेशले बाँड्नुपर्ने औषधि र खोप अहिलेसम्म नपठाएको उनले बताए । ‘नगरपालिकाबाटै १६ लाखको औषधि किनेर वितरण गरियो । ग्रामीण स्वास्थ्य कार्यकर्ताको तालिम लिएकालाई औषधि वितरणमा परिचालन गरियो,’ उदासले भने, ‘प्रदेशबाट अहिलेसम्म १ डोज खोप पनि उपलब्ध भएन । संक्रमणको मारले किसान संकटमा परेका छन् ।’

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका सूचना अधिकारी एवं पशु चिकित्सक विनोदकुमार साह संक्रमण नियन्त्रणका लागि औषधि वितरण गर्ने र खोप लगाउने काम भइरहेको दाबी गर्छन । ‘संक्रमण धेरै देखिएको स्थानलाई लक्षित गरेर खोप कार्यक्रम सञ्चालन गरिएको छ । स्थानीय तहहरुमा खोप पठाइएको छ,’ उनले भने, ‘प्रदेशमा १ सय ३७ वटा पालिकाहरु छन् । सबैमा पु¥याउन भने सकिएको छैन ।’
बजेट, स्रोधसाधन र जनशक्ति अभावकै कारण लम्पी स्किन नियन्त्रणलाई प्रभावकारी बनाउन नसकिएको साह स्वीकार्छन् । उनका अनुसार हालसम्म २३ लाख रूपैयाँ बढीको औषधि खरिद गरेर वितरण गरिसकिएको छ । साहले रकमको अभाव भएकाले खोप र औषधिको अभाव झेल्नु परेको बताए । ‘संक्रमण नियन्त्रणमा सक्दो प्रयास गरिरहेका छौं । संघीय सरकारले अधिकारसहित बजेट स्थानीय तहलाई पठाएको छ,’ उनले भने, ‘धेरै गर्ननसक्ने अवस्थाका बीच हामीबाट सहजीकरण भइरहेको छ । त्यहाँमाथि सबै कुराको अभाव छ ।’ साह आफूहरुले समन्वयकारी भूमिका निर्वाह गरिरहेको बताउँछन् ।

पशुमा संक्रमण नदेखिएका बेला पशुसेवाका दरबन्दी कटौती गरिएकाले पनि समस्या भएको उनले बताए । ११ जनासम्म दरबन्दी भएको ठाउँमा अहिले ३ जनासम्मले काम गर्नुपर्ने अवस्था रहेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । २ वटा जिल्ला हेर्ने गरी प्रदेश सरकारको एउटा पशु अस्पताल छ । अस्पतालमा ५ जनासम्म मात्रै कर्मचारी छन् । उनीहरुले दुईवटा जिल्लामा सेवा पु¥याउन समस्या हुने निर्देशनालयको भनाइ छ ।

पशु चिकित्सकका अनुसार लामखुट्टे (मच्छर), झिँगा, किर्नाजस्ता कीराको टोकाइबाट पशुमा यो रोग सर्छ । संक्रमण भएपछि पशु चौपायालाई ज्वरो आउने, गाईंभैंसीले दूध कम दिने, तौल घट्ने हुँदै अन्तमा मृत्यु हुने समस्या छ । संक्रमित पशुको छालामा १ देखि ५ सेन्टिमिटरसम्मका गोला र साह्रा गाँठा देखिने, थुतुनो, मुख एवं नाकमा घाउ आउने तथा आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ बग्ने हुन्छ ।

Comments

सम्बन्धित खवर