•  १६ बैशाख २०८१, आईतवार
  •  5:20:03 AM

सन्दीप लामिछानेविरुद्ध आज मुद्दा दर्ता हुँदै

- कार्तिक १४, २०७९ मा प्रकाशित


काठमाडौं । नाबालिगमाथि बलात्कारको आरोपमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अभियोजनपत्र आज जिल्ला अदालत काठमाडौंमा दायर गरिने भएको छ ।

जिल्ला सरकारी कार्यालय काठमाडौंले लामिछानेसँग बयान सकेर प्रतिवेदन तयार गरी आज अदालतमा मुद्दा दर्ता गर्ने भएको हो । २० असोजदेखि प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्ध प्रहरीले तीन पटक म्याद थप गरी अनुसन्धान गर्दै आएको छ ।

उनीसँग प्रहरीले बयानसमेत लिइसकेको छ । प्रहरीले बलात्कार अभियोगमा १२ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ताको तयारी गरेको छ । आज मुद्दा दर्ता गरेपछि मंगलबारदेखि थुनछेक बहस हुने भएको छ ।

एक नाबालिगले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै उनीविरुद्ध गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जाहेरीमा सन्दीपले भदौ ५ गते राति पिंगलास्थानको ‘होटेल काठमाडौं इन’मा लगेर बलात्कार गरेको उल्लेख छ ।

उक्त होटेलको सीसीटीभी फुटेजमा त्यस दिन सन्दीप ती किशोरीसँगै प्रवेश गरेको र भोलिपल्ट बाहिरिएको देखिएका छन् । भदौ ६ गते सन्दीप नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न केन्या गएका थिए । केन्याबाट क्यारेबियन प्रिमियर लिग खेल्न उनी जमैका गएका थिए । जाहेरी परेको एक महिनापछि उनी नेपाल आएका थिए । सोही क्रममा असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । प्रहरी अनुसन्धानका क्रममा उनी अमेरिकाबाट नेपाल आएको खुलेको थियो ।

सरकारी वकिलसँगको बयानका क्रममा सन्दीपले आफूमाथिको आरोप अस्वीकार गरेका छन् । उनले आफूविरुद्ध जाहेरी दिनेकै आग्रहमा होटेलमा बसेको र यौनजन्य कार्य नगरेको दाबी गरेका छन् । भदौ ५ गतेको होटेल काठमाडौं इनको सीसीटीभी फुटेज रिपोर्टसँगै होटेलका कर्मचारीको बयान पनि अभियोजनपत्रमा उल्लेख छ । पीडितको बयान, मेडिकल जाँच पनि अभियोजनपत्रमा समावेश छ ।

Comments

सम्बन्धित खवर