इटहरी डेस्क । नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबारको दोस्रो खेलमा विराटनगरले काठमाडौँलाई ५ विकेटले हरायो । काठमाडौँले लगातार दोस्रो खेलमा पराजय व्यहोरेको हो । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको काठमाडौँ दोस्रो खेलमा सुदूरपश्चिमसँग २९ रनले पराजित भएको थियो ।
काठमाडौँले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो। विराटनगरका ओपनर लोकेश बम १० बलमा २ छक्कासहित १४ रनमा आउट भए। त्यसपछि जर्ज मन्से र मार्टिन गप्टिलले दोस्रो विकेटका लागि ५३ रनको साझेदारी गरे। सातौँ ओभरमा आउट हुनुअघि मन्सेले १६ बलमा ५ चौका र २ छक्कासहित ३६ रन बनाए।
गप्टिलले १९ बलमा २५ रन बनाए। बासिर अहमदलाई इरामसले १९ रनमा आउट गरे। नरेन भट्टले ३० बलमा २ चौकासहित २४ रन बनाए । कप्तान सन्दीप लामिछाने ९ रनमा नटआउट रहे भने शुभम रन्जने ६ रनमा नटआउट रहे।काठमाडौँका तर्फबाट शाहब आलमले ४ ओभरमा २ विकेट लिए। करण केसी, सन्तोष यादव र इरासमसले १/१ विकेट हात पारे।त्यसअघि टस जितेर फिल्डिङ रोजेको विराटनगरका विरुद्ध ब्याटिङ गरेको काठमाडौँले ६ विकेटमा १३४ रन बनाएको थियो । काठमाडौँका लागि आदिल अन्सारीले २५ बलमा नटआउट ४८ रन जोडे ।
विराटनगरका तर्फबाट डि लाङले २ विकेट लिए भने शुभम रन्जने, सूर्य तामाङ र कप्तान सन्दीप लामिछानेले १/१ विकेट हात पारे।लिगमा आइतबार कुनै खेल हुने छैन । सोमबार पहिलो खेलमा पौने १२ बजे विराटनगरले जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेल अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुनेछ ।



























Discussion about this post