एजेन्सी । अमेरिकाले इरानका सैन्य ठेगानामाथि पुन: बमबारी गरेको छ । उसले स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य)मा अमेरिकी जहाजहरूमाथि भएको ईरानी आक्रमणको जवाफस्वरूप यो कदम चालिएको जनाएको छ ।उता ईरानले भने एक ईरानी तेल ट्यांकरमाथि पहिले आक्रमण भएकाले आफूले मिसाइल प्रहार गरेको दाबी गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ नै ईरानसँगको युद्ध चाँडै अन्त्य हुने बताएका थिए । तर अमेरिकाको इरानमाथि पुन: आक्रमण गरेको समाचार सार्वजनिक भएको हो ।
अमेरिकी सेन्ट्रल कमाण्डले भने अमेरिकी नौसेनाको टोली ओमानको खाडीतर्फ अघि बढिरहेका बेला इरानले आक्रमण गरेपछि आत्मरक्षाका लागि जवाफी कारबाही गरेको जनाएको छ । सेन्ट्रल कमाण्डको वक्तव्यमा लेखिएअनुसार, अमेरिकी जहाजहरू उक्त क्षेत्रमा गुज्रिरहेका बेला ईरानी सैन्य बलले मिसाइल, ड्रोन र साना डुंगामार्फत आक्रमण गरेका थिए ।
अमेरिकाले युद्धविराम तोडेको इरानको आरोप
इरानको उच्च सैन्य नेतृत्वले अमेरिकामाथि ‘युद्धविराम उल्लंघन’ गरेको आरोप लगाएको छ ।इरानको सरकारी प्रसारण संस्था आईआरआईबीले जारी गरेको वक्तव्यमा अमेरिकाले होर्मुज जलडमरूमध्यतर्फ गइरहेको एक ईरानी तेल ट्यांकरमाथि आक्रमण गरेर युद्धविराम तोडेको आरोप लगाएको हो । इरानले आफ्ना सशस्त्र बलले तत्काल जवाफी कारबाही गरेको र तिनलाई ठूलो क्षति पुर्याएको जनाएको छ ।
इरानी नौसेनाले ‘शक्तिशाली विस्फोटक वारहेड’ प्रयोग गरेर जवाफ दिएको र आफ्ना गुप्तचर प्रतिवेदनअनुसार अमेरिकालाई ‘ठूलो क्षति’ पुगेको दाबी गरेको छ । साथै घुसपैठ गर्न खोज्ने जहाजहरू तीव्र गतिमा भागेको पनि उल्लेख गरेको छ ।


























Discussion about this post