इटहरी । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै छ। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ।
दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजाआराधना र दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ।पशुबलि नदिने र शाकाहारीले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन्। अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि छ।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ। कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ।
नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शनका लागि भक्तजनको भिड लाग्छ।आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजाकोठा वा दसैँ घरमा आज नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजाआराधना गरिन्छ।
दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ। यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजाआराधना गरिन्छ।महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निसानापूजा गरिन्छ। यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निसाना पूजा र कोतपूजा गर्ने प्रचलन छ।
यसैबीच हरेक वर्ष दसैँको महानवमीका दिन मात्र सबैका लागि पूजाआजा एवं दर्शन गर्न खोलिने तलेजु मन्दिर आज खुला गरिएको छ।हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा आज लाखौँ भक्तजन पूजाआराधना एवं दर्शनका लागि पुग्ने गर्छन्।
तलेजु मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराइने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले जानकारी दिए।तलेजु भवानीलाई भने फूलपातीकै दिन सोमबार हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ। तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ।
मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइन्छ। राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले महाअष्टमीको राति तान्त्रिक विधिले कालरात्रि पूजा गर्ने गरिएको जनाइएको छ।


























Discussion about this post