•  १८ बैशाख २०८१, मंगलवार
  •  5:41:18 AM

खाेटाङकाे हलेसीमा निःशुल्क आँखा शिविर , ५९० जना लाभान्वित

- पुष ८, २०८० मा प्रकाशित


खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ९१ जनाको आँखा शल्यक्रिया गरिएको छ । त्रिधार्मिकस्थल हलेसी बजारस्थित आँखा तथा कान उपचार केन्द्रको कार्यालयमा बिहीबारदेखि शनिबारसम्म शिविर सञ्चालन भएको थियो ।

निःशुल्क शल्यक्रिया शिविरमा ९१ मध्ये ६४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए । अन्य २७ जना बिरामीको आँखामा मासु पलाएको भेटिएकाले शल्यक्रिया गरिएको उनले बताए । शिविरमा पाँच सय ९० जना सेवाग्राहीले निःशुल्क सेवा लिएका छन् । शिविरमा सहभागी ४०० बढीलाई निःशुल्क औषधि तथा एक सय ५० जनालाई निःशुल्क चश्मा वितरण गरिएको नेपाल नेत्र ज्योति सङ्घ खोटाङका अध्यक्ष इन्द्र कसजूले जानकारी दिए ।

शिविरमा आँखा उपचार गराउन हलेसी तुवाचुङ नगरपालिकासँगै छिमेकी पालिका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा, रावाबेंसी, साकेला गाउँपालिकालगायत अन्य पालिकासँगै ओखलढुङ्गा, उदयपुर जिल्लाका सेवाग्राही हलेसी आएका थिए । लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालको सहयोगमा शिविर सञ्चालन भएको हो ।

आँखाको समस्या भएका नागरिकको सहजताका लागि हलेसी तुवाचुङ नगरपालिका, नेपाल नेत्र ज्योति सङ्घ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा उपचार केन्द्र सहयोग समितिले निःशुल्क आँखा शल्यक्रिया शिविर आयोजना गरेको हो । शिविरको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राईले उद्घाटन गरेकी थिइन् । त्यस अवसरमा पाठेघरको निःशुल्क शल्यक्रियादेखि नगर अस्पताल सञ्चालन गरेर बीमा गर्ने र बीमाको उपचार हुने व्यवस्था मिलाउनेसम्मको काम गरिरहेको नगर प्रमुख राईले बताएकी थिइन् ।

Comments

सम्बन्धित खवर