•  १८ बैशाख २०८१, मंगलवार
  •  2:45:07 PM

एमाले ‘संकल्प यात्रा’ टोली आज दिनभर तेह्रथुममा, के–के छन् कार्यक्रम ?

- मंसिर २९, २०८० मा प्रकाशित


इटहरी डेस्क । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को जारी मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि संकल्प यात्रा टोली आज (शुक्रबार) तेह्रथुमको वसन्तपुरबाट आठराई गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र संक्रान्ति बजार पुग्दै छ ।

एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार अहिले वसन्तपुरबाट सुरु हुने यात्रा तेह्रथुमको सदरमुकाम म्याङलुङमा पुगेर खाना खाने कार्यक्रम छ । उक्त स्थानमा स्थानीय बासिन्दा ,राजनीतिक दलका नेताहरू, जनप्रतिनिधिसँग भेटघाट तथा संक्षिप्त अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

त्यहाँबाट अघि बढ्ने यात्रा टोली तेह्रथुमकै औँसीडाँडामा स्थानीय बासिन्दासँग सो क्षेत्रका समस्या र विकासका सम्भावना बारे छलफल गर्ने तयारी छ । साँझ सक्रान्ति बजारमा पुगेर बास बस्ने प्रमुख गौतमले जानकारी दिए । आजको यात्रा दिनभर तेह्रथुम जिल्लाभित्रै हुनेछ । यात्रा टोलीले आज ९४ किलोमिटर दुरी पार गर्नेछ । मध्यपहाडका समस्याको पहिचान र त्यसको समाधानका उपाय पहिल्याउन एमालेले मध्यपहाडी राजमार्ग अन्तर्गतका २६ जिल्लाको यात्रा तय गरेको हो ।

‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ भन्ने नारासहित एमालेले मध्य पहाडका जनतासँग साक्षात्कार गर्ने त्यहाँको जनजीवनका विविध पाटाहरूसँग छलफल गर्ने, विकास निर्माण र हाल भइरहेका समस्याहरूको पहिचान गरी समाधानका उपाय पहिल्याउने उद्देश्यले यात्रा आयोजना गरिएको जनाएको छ ।

बैतडीको झुलाघाटबाट गत मंसिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ । यात्रामा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमालेका केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्य तथा प्राविधिक टोली सहभागि छन् ।

Comments

सम्बन्धित खवर