इटहरी । कोशी प्रदेशसभा बैठकमा ‘श्री ५ महाराजधिराज’ भनिएपछि विवाद भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद गोपालबहादुर विश्वकर्माले शून्य समयमा बोल्ने क्रममा ‘श्री ५ महाराजधिराज’ भनेका थिए ।
उनले भनेका थिए, ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकारको ७९औं जन्मजयन्ती परेको हुँदा सरकारको सुस्वास्थ्य, दीर्घायुको कामना व्यक्त गर्न चाहन्छु, यो राप्रपा संसदीय दलको तर्फबाट ।’ विश्वकर्माले बोल्न सकेपछि नेकपा (एमाले) का प्रमुख सचेतक विदुर लिङ्थेपले आपत्ति जनाए । उनले भने, ‘उहाँले श्री ५ ज्ञानेन्द्र भन्ने शब्द प्रयोग गर्नुभयो । उहाँलाई संविधानले चिन्दैन । उहाँ श्री ज्ञानेन्द्र चाहिँ हुनुहुन्छ तर, श्री ५ रहनु भएन । त्यस कारणले यो चाहिँ हाम्रो रेकर्डबाट हटाइ पाउँ ।’
तर, सभामुख अम्बरबहादुर विष्ट रेकर्डबाट हटाउन मानेनन् । उनले भने, ‘ठीकै छ, माननीय ज्यू तपाईंको ध्यानाकर्षण भएको छ । अब यसलाई, बोल्नै नपाउने भन्ने कुरा त त्यहाँ छैन क्यारे । अब उहाँले भनेको जे भए पनि संविधानले जे भन्छ, त्यो मात्रै कायम भएर जाने कुरा हो ।’ जवाफमा लिङ्थेपले संविधानलाई पछ्याएर जानुपर्ने बताए । ‘संविधानभित्रै छौँ, संविधानभित्रै रहौँ भन्ने विषय हो।‘ सभामुख विष्टले ‘संविधानभित्रै रहन्छ’ भनेर जवाफ दिए। तर, रेकर्डबाट हटाउन भने उनले निर्देशन दिएनन् ।




























Discussion about this post