इटहरी । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति उज्यालो नेपाल पार्टी (उनेपा)ले आपत्ति प्रकट गरेको छ। सो पार्टीले विज्ञप्ती जारी गर्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिप्रति गम्भीर चिन्ता र कडा आपत्ति प्रकट गरेको हो।
‘प्रधानमन्त्री बालेन शाहले पदभार ग्रहण गरेपछि इन्धन बजारमा स्थिरता आउनुपर्ने अपेक्षा थियो। तर वास्तविकता ठीक उल्टो देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हालसम्मको सार्वजनिक मूल्यसूची हेर्दा सरकार गठनपछि इन्धनको मूल्य पटक पटक बढाइएको छ। काठमाडौंमा पेट्रोल २६ मार्चको रु १८७ बाट १६ अप्रिलमा रु २१९ पुगेको छ भने डिजेल रु १६७ बाट रु २३७ पुगेको छ। यसको अर्थ छोटो अवधिमै पेट्रोलमा रु ३२ र डिजेलमा रु ७० वृद्धि भएको छ।’
इन्धनको मूल्य एक पटक बढ्दा त्यसको असर पेट्रोल पम्पमै सीमित नरहने भन्दै उज्यालो नेपाल पार्टीले त्यसको असर यातायात, ढुवानी, कृषि, निर्माण, उद्योग, खुद्रा व्यापार, विद्यालय, अस्पताल र घरपरिवारको दैनिक खर्चसम्ममा पर्ने जनाएको छ।
यस्ता छन् उनेपाको माग
१. पेट्रोलियम पदार्थमा लागेका कर, भन्सार, पूर्वाधार कर तथा अन्य शुल्कको तत्काल पुनरावलोकन गरी खुद्रा मूल्य घटाउने निर्णय गरियोस्।
२. मूल्य स्थिरीकरणका लागि उपलब्ध कोषहरु जनतालाई राहत दिन तत्काल प्रयोग गरियोस्।
३. नेपाल र भारतका सीमावर्ती बजारबीचको अस्वाभाविक मूल्य अन्तर घटाउन विशेष मूल्य समानीकरण संयन्त्र बनाइयोस्।
४. चोरीपैठारी, कालोबजारी, कृत्रिम अभाव र कार्टेलिङ नियन्त्रणका लागि संयुक्त अनुगमन अभियान सञ्चालन गरियोस्।
५. विद्युतीय चुलो, विद्युतीय सवारीसाधन र स्वदेशी ऊर्जा प्रयोगमा लक्षित सहुलियत दिई पेट्रोलियम निर्भरता घटाइयोस्।
६. नेपाल आयल निगमको वास्तविक परल मूल्य, कर संरचना, नाफा नोक्सान र मूल्य समायोजनको आधार पूर्ण पारदर्शितासहित नियमित सार्वजनिक गरियोस्।
























Discussion about this post