काठमाडौं । धादिङको गजुरीस्थित पृथ्वी लोकमार्ग अवरुद्ध भएको छ । गजुरी गाउँपालिका–६ जहरेखेतस्थित पृथ्वी लोकमार्ग अवरुद्ध भएको हो ।
आज बिहान ६:१० बजे सडक माथिबाट रुखसहित पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। यस्तै दैलेख आठबिस नगरपालिका–४ खिड्कीज्युला नजिकै कर्णाली राजमार्ग पनि अवरुद्ध भएको छ ।
बिहान ६ : ४० बजे सडक माथिबाट पहिरो आउँदा सडक पुरिएको प्रहरीले जनाएको छ । गुल्मीको सत्यवती गाउँपालिका–६ उल्लीखोलास्थित रुद्रवेणी–वामी सडकखण्ड पनि अवरुद्ध भएको छ । बिहान साढे ६ बजे डहरेखोलाको पानीको बहाव बढी रुद्रवेणी–वामी सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सो सडक खण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा बाढी आएपछि आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।
डहरेमा सडक माथिबाट लेदोसहितको बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै बागलुङको बुर्तिवाङसम्म आवतजावत गर्ने सवारीसाधन रोकिएका छन् ।
सडक सञ्चालन गर्न जोहाङ्ग खैरेनीबाट प्रहरी टोली परिचालन गरिएको तर पानी परिरहेको र वर्षा नरोकिएका कारण सडक कठिन भइ प्रनाउ सारुले बताए । उक्त खोलाले तीन दिनअघि एउटा कार बगाएको थियो । वर्षाका कारण कालीगण्डकी र बडिगाड खोलामा पनि सतह बढेको छ ।
जिल्ला प्रशासन कार्यालयले बर्सातको समयमा तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बस्न गर्न आग्रह गरेको छ । गुल्मीमा २०० भन्दा बढी स्थान बाढी पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।























Discussion about this post