इटहरी डेस्क । काठमाडौं महानगरपालिकाले तोकेबमोजिम छात्रवृत्ति नदिने विद्यालयको अनुमति खारेज गर्ने चेतावनी दिएको छ ।मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै नियमअनुसार छात्रवृत्ति नदिने शैक्षिक संस्थालाई कारबाही गर्ने बताएका हुन् ।
महानगरपालिकाको पहलमा पछिल्लो तीन वर्षमा ५२ हजार भन्दा धेरैले छात्रवृत्ति पाएको पनि उनले जानकारी दिएका छन्।
मेयर शाहले सार्वजनिक गरेको तथ्याङकअनुसार कानून कार्यान्वायनको पहिलो वर्ष १३ हजार, दोस्रो वर्ष १९ हजार र यो वर्ष २० हजार दुई सय ८२ जनाले छात्रवृत्ति पाएका छन् ।
उनले फेसबुकमा लेखेका छन्–
एउटा कानुन कार्यान्वयनले यो वर्ष २० हजार भन्दा धेरै विद्यार्थीले Scholarship पाएका छन् ।
कार्यान्वयनको पहिलो वर्ष १३०००, दोश्रो वर्ष १९००० र यो वर्ष १ देखि १० सम्म १६९८० र ११ मा ३३०२ गरि जम्मा २०,२८२ ले करिब २ अर्ब २५ करोड बराबरको छात्रवृति पाएका छन्।
यस शैक्षिक सत्र २०८२ मा हाल सम्म विवरण बुझाउने विद्यालयको संख्या ४४० पुगेको छ जस अनुसार १६९८० जनाले छात्रवृति पाएका हुन्। केही विद्यालयले हाल सम्म विवरण बुझाएका छैनन् उहाँहरूलाई यथासीघ्र विवरण बुझाउन अनुरोध गर्छौं, विवरण पेस नगर्ने विद्यालयहरू बन्द विद्यालयको रुपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ ।
प्राप्त भएको विवरणको पनि हामी अनुगमन गर्नेछौँ , फरक पाइएमा कानुन बमोजिम कारबाही हुनेछ। कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ । त्यसैले, हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौँ।
कक्षा ११ को छात्रवृति केन्द्रिकृत प्रणालीबाट र कक्षा १–१० को लागि ऐन को दफा ५० को उपदफा (३) अनुसार गठित छात्रवृत्ति छनोट समितिको निर्णयबाट विद्यालय व्यवस्थापन समितिले वितरण गरे अनुसार प्राप्त भएको विवरण हो। सबै विवरण कानुनअनुसार हामीले वेबसाइटमा सार्वजनिक गरेका छौँ । केही अस्वाभाविक देख्नु भएमा कृपया महानगर शिक्षा विभागमा सम्पर्क गर्नु होला ।



























Discussion about this post