इटहरी । नेपाल पत्रकार महासंघ सुनसरीको आयोजनामा आइतबार साँझ इटहरीको संगीत चोकमा लोकतन्त्र, प्रेस स्वतन्त्रता र व्यावसायिक पत्रकारिताको पक्षमा ऐक्यबद्धता सभा सम्पन्न भएकाे छ ।इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले दिएको पत्रकार विरोधी टिप्पणी प्रति आक्रोश व्यक्त गर्दै पत्रकारहरूले इटहरीको संगित चोकमा ऐक्यबद्धता सभाको आयोजना गरेका हुन् ।
सञ्चारकर्मी, नागरिक समाज, शिक्षासेवी, साहित्यकार, कलाकार, मानव अधिकारकर्मी र विभिन्न क्षेत्रका प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता राज्यले सुनिश्चित गर्नुपर्ने भन्दै हाल भइरहेका हस्तक्षेपप्रति आपत्ति जनाइएको थियो।
सभालाई सम्बोधन गर्ने वक्ताहरूले नगरप्रमुखबाट अभिव्यक्त भएका विचारलाई लोकतान्त्रिक मूल्य र संविधान विपरीतको कार्य भन्दै खेद व्यक्त गरे ।
कार्यक्रममा पत्रकारितामाथि भइरहेको दमन, धम्की र हस्तक्षेपको विरोध गर्दै स्वतन्त्र र जिम्मेवार पत्रकारिताको संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको भनिएको छ । संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता सबै नागरिकले जोगाउनुपर्ने साझा दायित्व भएको सभाले स्मरण गराएको थियो।



























Discussion about this post