इटहरी डेस्क । अमेरिकामा हालै भएको कार दुर्घटनामा मृत्यु भएका दुई नेपाली विद्यार्थीमध्ये एकजना तुलसीपुर उपमहानगरपालिका, दाङका भएको खुलेको छ। यही जुलाई १३ तारिख स्थानीय समयअनुसार शनिबार राति ९ बजेतिर लुइसियाना राजमार्ग ५०७ को पश्चिममा रहेको अमेरिकी राजमार्ग ८० मा कार दुर्घटना हुँदा नेपाली नागरिकद्वय २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो।
उनीहरूमध्ये ओलीको घर ठेगाना पत्ता लागेको हो। उनी तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरका भएको उनका काका पोषण ओलीले जानकारी दिए।उनले भने, ‘घरमा बुवा-आमा र एक जना दाइ मात्र छन्, रोजिन १० महिनाअघि मात्र पढ्न अमेरिका गएका थिए।’ उनी अमेरिकामा डाक्टरी पढ्दै थिए।
ओली र यादव दुवै लुइसियाना टेक युनिभर्सिटीमा अध्ययनरत थिए। दुर्घटनामा यादव र ओलीको घटनास्थलमै मृत्यु भएको थियो।आफ्ना भतिजा रोजिनसँगै सँगै पढ्ने यादवको घर भने सर्लाहीसम्म भन्ने सुनेको तर निश्चित जानकारी प्राप्त नभएको पोषण ओलीले बताए।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हुरीबतास र ठूलो वर्षाका बीच उनीहरू सवार कार रुखमा ठोकिँदै सडकबाट खसेको हो।



























Discussion about this post