इटहरी डेस्क । लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को तेस्रो सिजन समाप्त भएपछि दर्शकहरु चौंथो सिजनको पर्खाइमा छन् । तर, ‘सक्किगोनी’ फेरि टेलिभिजनमा कहिले फर्किन्छ भन्ने अनिश्चित देखिएको छ ।तेस्रो सिजनमा ९३ श्रृंखला उत्पादन र प्रशारणपछि निर्माण टीमले केही समय विश्राम लिने घोषणा गरेको थियो । त्यसबेला जारी गरिएको सूचनामा छिट्टै चौंथो सिजनमा भेट्ने वाचा गरिएको थियो । तर चार महिना बितिसक्दा पनि अर्को सिजनको कुनै तयारी र सुरसार छैन ।
निर्माण स्रोतका अनुसार प्रोडक्सन खर्च उच्च भएको भन्दै पहिलेको विज्ञापन एजेन्सीले अर्को सिजन ल्याउन आँट गरेको छैन । एउटा एपिसोडमै ३ लाखभन्दा बढी खर्च हुने गरेको निर्माण स्रोतको भनाइ छ ।
‘यसै पनि कलाकार टिम ठूलो थियो, त्यसमाथि सबैले हाइ डिमान्ड गर्न थालेपछि धान्नै नसकिने अवस्था भएको थियो,’ स्रोतले भन्यो ।
बुझिएअनुसार सक्किगोनीले एक कलाकारलाई प्रत्येक एपिसोडको १० देखि १५ हजार रुपैयाँ दिने गरेको थियो । साथै, सुटिङ स्थल (काभ्रे) टाढा हुनुले पनि उत्पादन लागत उच्च भएको हो ।
‘सक्किगोनी’ टीमले यसबीचमा ‘लाजशरणम’ नामक चलचित्र निर्माण गरेर प्रदर्शनमा ल्याएको छ । यो चलचित्रले औसत व्यापार गर्यो । चलचित्रले ६ करोडभन्दा बढी ग्रस कलेक्सन गरेको थियो । लाजशरणमको सफलतापछि अर्को चलचित्र निर्माणको चर्चा भए पनि अहिलेसम्म घोषणा गरिएको छैन ।‘सक्किगोनी’ का निर्देशक अर्जुन घिमिरे पाँडेले अर्को सिजनका विषयमा यसै भन्न नसक्ने बताए ।‘भोलि राम्रो व्यवसायीक वातावरण बन्यो भने आउन पनि सक्ला । तर अहिलेको अवस्थामा चाहिँ कुनै पनि गृहकार्य भएको छैन,’ उनले भने ।
लामो समय नेपाली दर्शकलाई हँसाएको सक्किगोनी (यसअघि भद्रगोल) ले थुप्रै हास्यकलाकारहरु पनि जन्माएको छ । कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) ले श्रृंखला निर्देशन गर्दै आएका थिए ।यसमा दीपक आचार्य काकु, सागर लम्साल बले, हरिश निरौला कक्रोच, कमलमणी नेपाल (खुपीका बाउ), सुबोध गौतम, गोविन्द कोइराला (जयन्ते), रक्षा श्रेष्ठ, सुरक्षा इटनी, प्रियना आचार्य लगायत कलाकारले अभिनय गर्ने गरेका थिए ।


Discussion about this post