इटहरी । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)मा काठमाडौँ गोर्खाजले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ ।जितसँगै काठमाडौँ गोर्खाज एनपीएल को प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ ।बिहीबार भएको खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गर्दै काठमाडौँले प्लेअफमा स्थान पक्का गरेको हो । साथै काठमाडौँले शीर्ष दुईमा रहने सम्भावना पनि बलियो बनाएको छ ।
लिग चरणमा ७ वटै खेल खेलिसकेको काठमाडौँले ५ जित र २ हारबाट १० अंक जोडेर दोस्रो स्थानमा छ । लिगको बाँकी खेलको नतिजापछि काठमाडौँ शीर्ष दुईमा रहने/नरहने पक्का हुनेछ ।उता ६ खेलमा चौथो हार ब्यहोरेको पोखराको ४ अंक मात्र छ र प्लेअफ सम्भावना कठिन बनेको छ । काठमाडौँ गोर्खाजे दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले पूरै २० ओभर खेल्दै १० विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो ।
एनपिएल सिजन-२ मा आजको खेलमा दुई राम्रा रेकर्ड बनेका छन् । काठमाडौँका शाहब आलम एकै इनिङ्समा सबैभन्दा धेरै अर्थात ६ विकेट लिने पहिलो खेलाडी बनेका छन् । शाहबले ४ ओभरमा २५ रन खर्चेर एक्लै ६ विकेट लिए ।त्यस्तै, आक्रमक ब्याटिङ गरेका भीम सार्कीले एनपीएलमा यस सिजनमा सबैभन्दा छिटो १९ बलमा अर्धतशक प्रहार गरे । भीमले २३ बल खेल्दै ५ चौका र ४ छक्का मदतमा ५५ रन बनाए । सातौं नम्बरमा ब्याटिङ गरेका भिम शार्कीले ओपनर चार्ल्सवर्थसँग राम्रो साझेदारी गर्दै इनिङ्स बिल्ड गरे ।
७९ रनमा ५ विकेट गुमाएको काठमाडौँका लागि चार्ल्सवर्थ र भीम शार्की मिलेर छैटौं विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए ।बलिङमा पोखराका लागि धनन्जय लक्षनले ४ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै कप्तान कुशल भुर्तेलले २ तथा विपिन खत्री र किरण ठगुन्नाले समान १/१ विकेट लिए ।



























Discussion about this post