•  २२ बैशाख २०८१, शनिबार
  •  12:58:48 AM

पाक प्रधानमन्त्रीले पीटीआइ सांसदहरूलाई भने– अविस्वासको प्रस्तावमाथि हुने मतदानमा उपस्थित नहुनू

- चैत्र १६, २०७८ मा प्रकाशित


इस्लामाबाद: पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो पार्टीका सांसदहरूलाई अविश्वासको प्रस्तावमा मतदानको दिनमा नेशनल एसेम्बलीको बैठकमा सहभागी नहुन कडा निर्देशन दिएका छन् । अप्रिलको पहिलो साता हुने अविश्वासको प्रस्तावमाथिको मतदानमा सहभागी नहुन प्रधानमन्त्रीले आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन् ।

पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) सांसदहरूलाई लेखेको पत्रमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री खानले भनेका छन, ‘ नेसनल एसेम्बलीमा अविस्वासको प्रस्तावमाथि हुने मतदानमा उपस्थित नहुनू वा बैठकमा उपस्थित नहुनू ।’

तल्लो सदन नेसनल एसेम्बलीमा बिहीबारबाट अविश्वासको प्रस्तावमाथि बहस सुरु हुनेछ र सात दिनभित्र मतदान हुनेछ । विपक्षी नेता सहबाज सरिफले सोमबार खानविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका थिए ।

पाकिस्तानका विपक्षीले सोमबार तल्लो सदन नेशनल एसेम्बलीमा खानविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेको एक दिनपछि प्रधानमन्त्रीको यो निर्देशन आएको हो । सन् २०१८ मा पदभार ग्रहण गरेपछि खानले सबैभन्दा कठिन राजनीतिक परीक्षाको सामना गरिरहेका छन् । उनको पार्टीमा गम्भीर मतभेद र सत्तारूढ गठबन्धनमा दरारहरू देखा परेका छन । पार्टीमा उनको स्थिति कमजोर बन्दै गएको छ ।

३४२ सिट रहेको सदनमा प्रधानमन्त्रीलाई हटाउन आफूहरुलाई आवश्यक १७२ सदस्य रहेका विपक्षीले दाबी गरेका छन् । विपक्षीको कदमपछि पाकिस्तानमा राजनीतिक अस्थिरता बढेको छ भने जुन सुकै बेला सरकार ढल्न सक्ने खतरा बढेको छ । 
खानले आफ्नो पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टी र राजनीतिक सहयोगीहरूको सहयोगमा अविश्वासको प्रयासलाई पराजित गर्ने बताउँदै आएका छन् । -एजेन्सी

Comments

सम्बन्धित खवर