•  २० बैशाख २०८१, बिहीबार
  •  4:52:53 PM

जनकपुरका अस्पतालमा डायलाइसिसका विरामीको चाप उच्च, तर सेवा सुस्त

- चैत्र १३, २०७८ मा प्रकाशित


जनकपुरधाम: सरकारले पित्तथैलीमा समस्या भएका विरामीलाई निः शुल्क रूपमा डायलाइसिस गर्ने सेवा प्रभावकारी हुन सकेको छैन । डायलाइसिस गराउने विरामीको संख्या उच्च रहेकाले सोअनुसारको मेसिन र जनशक्तिको व्यवस्थापन हुन सक्दा उक्त सेवा अझै प्रभावकारी हुन सकिरहेको छैन ।

दुवै किड्नी खराब भएका महोत्तरीका बसिर कवाडीले डायलाइसिसका लागि महिनौ कुरेपछि मात्रै जनकपुरधामस्थित प्रदेशिक अस्पतालमा डायलाइसिसका लागि पालो पाएको बताए । निःशुल्क रूपमा डायलाइसिस गराउन पालो कुर्दाकुर्दा लाखौ रुपैयाँ खर्च भएको बताउँदै उनले भने, ‘सुरुमा अस्पतालले बेड नै खाली नरहेको भन्दै भर्ना गर्न इन्कार गरे । त्यसपछि इमरजेन्सीमा चार हजार रुपैयाँ तिरे कति महिनासम्म डायलाइसिस गराउनुपर्‍याे । अहिले सप्ताहमा दुई दिन डायलाइसिस गराउदाँ आउदाँ यातायातमै हजारौ रुपैयाँ खर्च हुन्छ  ।’

प्रदेशिक अस्पताल जनकपुर र जानकी हेल्थ केयर एन्ड शिक्षण अस्पतालले उक्त सेवा दिँदै आएको छ । जनकपुरधामा धनुषा, महोत्तरी, सर्लाही,सिरहा, सप्तरी, सिन्धुली, रौतहटसम्मको विरामी डायलाइसिसका लागि आउने गरेको कर्मचारीहरू बताउँछन् । 

प्रादेशिक अस्पतालमा २०६१ सालदेखि डायलाइसिस सेवा सुरु भएको हाे भने जानकी हेल्थ केयरमा २०७४ सालदेखि । अहिलेसम्म प्रादेश अस्पतालमा ५१४ जना विरामी दर्ता भएका छन् । जसमध्ये ४५ जनाले नियमित सेवा लिँदै आएका छन् । दैनिक १५ जनाको डायलाइसिस गर्दै आएको प्रादेशिक अस्पतालमा अहिले पनि एक सय विरामी उपचारका लागि प्रतीक्षामा छन् ।

जानकी हेल्थ केयरमा पनि नियमित ४५ जना विरामीले डायलाइसिसका सेवा लिने गरेका छन् भने करिब २० जना उपचारका लागि पालाे कुरेर बसेका छन् । केयरले दैनिक १५ जना विरामीलाई बिहान ७ देखि राति ९ बजेसम्म सेवा दिँदै आएको छ । 

प्रादेशिक अस्पतालमा एक वर्षअघि १० वटा मेसिन थियो, अहिले पाँचवटा मेसिन मात्रै छ । डायलाइसिस विभागमा इन्चार्ज रानी झाले भनिन्, ‘तर गत मंसिरदेखि ती मेसिनहरू बिग्रेकाले अहिले प्रदेश सरकारले दिएको पाँचवटा मेसिनमा नियमित सेवा दिँदै आएको छ । विरामीको चाप उच्च छ, तर सीमित साधन स्राेत भएकाले सबैलाई सेवा दिन सक्ने अवस्था छैन । सरकारले १२ घन्टा सेवा दिन गाइडलाइन दिएको छ । तर आफूहरू १४-१५ घन्टासम्म सेवा दिइरहँदा पनि सकिने अवस्था छैन । एउटा विरामीलाई डायलाईइसिस गर्न कम्तिमा चार घन्टा लाग्छ । पाँचवटा मेसिनमा तीन सिप्ट काम गर्दा पनि विरामीकाे चाप उच्च छ ।’ 

डायलाइसिसको समस्या जनकपुरको मात्र नभई नेपाल रहेको बताउँदै जानकी हेल्थ केयर तथा प्रशिक्षण अस्पतालका डायलाइसिस विभाग प्रमुख डा.रमण मिश्रले भने, ‘सेवा र विरामीको संख्यामा तालमेल छैन । सेवा दिने क्षमता कम छ, तर विरामीको संख्या उच्च छ । यस्तोमा सबैलाई सेवा उपलब्ध गराउन सकिन्नँ ।’

कोभिड-१९ पश्चात मधेस प्रदेश सरकारले स्वास्थ्यमा ठूलो सुधार भएको दाबी गर्दै आए पनि डायलाईसिसका विरामीको सेवामा खासै सुधार देखिएको छैन । अहिले मधेस प्रदेशका प्रादेशिक अस्पताल जनकपुर, वीरगन्जको नारायणी क्षेत्रीय अस्पताल र सिरहाको सिरहा जिल्ला अस्पतालले मात्रै डायलाइसिसको सेवा दिँदै आएको छ । 

मधेस प्रदेश सरकारअघि जनकपुर र वीरगन्जमा मात्रै उक्त सेवा उपलब्ध थियो । मधेस प्रदेश सरकारले थप केही महिनादेखि सिरहा अस्पतालमा उक्त सेवा दिन सुरु गरेको छ । मधेस प्रदेशका स्वास्थ्य निर्देशक विजय झाले भने, ‘मधेस प्रदेश सरकार आएदेखि नै डायलाइसिसमा धेरै सुधार भएको छ, पहिला यो प्रदेशका यो सेवा निकै कमजोर थियो । तर अहिले धेरै सुधार छ । प्रदेश सरकारले प्रादेशिक अस्पताल, सिरहा अस्पतालहरूको मेसिन खरिद गरेर दिएको छ । त्यसबाहेक अन्य अस्पतालका लागि पनि सामान खरिद भइसकेको र वितरणको काम निकट भविष्यमा नै हुन्छ ।’ 
मेसिन दिएर मात्रै हुँदैन,’ उनले भने, ‘त्यसलाई चलाउने जनशक्तिको पनि आवश्यकता छ, जुन तत्काल हामीसँग छैन, हामी त्यस्ता कर्मचारीलाई प्रशिक्षण दिँदै छौ ।’ -न्युज कारखाना

Comments

सम्बन्धित खवर