•  २ जेष्ठ २०८१, बुधबार
  •  3:04:45 PM

निर्माणाधीन होल्डिङ सेन्टरको मुख्यमन्त्रीले गरे निरीक्षण

- माघ १८, २०७८ मा प्रकाशित


झापाः झापाको मेचीनगर नगरपालिका –१४, दुहागढीमा निर्माणाधीन होल्डिङ सेन्टरको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले निरीक्षण गरेका छन् ।

उच्च सरकारी पदाधिकारीसहित आज (सोमबार) उनले होल्डिङ सेन्टर निरीक्षण गरेका हुन् । हजार शय्याको यो होल्डिङ सेन्टर निर्माणको अन्तिम चरणमा छ ।

होल्डिङ सेन्टरमा नियमित स्वास्थ्य परीक्षण, खाने, बस्ने र नियमित योगाभ्यासको सेवा उपलब्ध हुनेछ । होल्डिङ सेन्टर २८ करोड २६ लाख ८७ हजार रुपैयाँ लागतमा निर्माण भइरहेको छ ।

होल्डिङ सेन्टर निर्माणका लागि मेचीनगर नगरपालिकाले चार बिघा जग्गा उपलब्ध गराएको हो । त्यहाँ नगरपालिकाको ११ बिघा जग्गा छ । होल्डिङ सेन्टरको निर्माण हनुमान कन्स्ट्रक्सनले गरिरहेको नेपाल रेडक्रस सोसाइटी झापा सभापति लोकराज ढकालले बताए ।

त्यहाँ रङ्गशाला, कृषि अनुसन्धान केन्द्र, बालउद्यान तालिम केन्द्रजस्ता संरचना निर्माण भइरहेका छन् । होल्डिङ सेन्टरको डिजाइनभन्दा थप काम गर्नुपर्ने भएकाले निर्माणमा ढिलाइ भइरहेको छ ।

निरीक्षणक्रममा मुख्यमन्त्री राईले अन्य विकासका योजना स्थगित राखेर भएपनि होल्डिङ सेन्टर सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । मुख्यमन्त्री राईले होल्डिङ सेन्टरका बारेमा प्रधानमन्त्री र सङ्घीय सरकारको समेत चासो रहेको बताए ।

निरीक्षण टोलीमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, प्रदेशस्तरीय राष्ट्रिय योजना आयोग उपाध्यक्ष, जिल्लाका उच्च सरकारी पदाधिकारी, स्थानीय सरकारका प्रमुख, उपप्रमुख सहभागी थिए ।

आन्तरिक मामिलामन्त्री कार्कीले होल्डिङ सेन्टरका विषयमा तीनै तहका सरकारको भूमिका अपरिहार्य रहेको बताए । नगरपालिकाका प्रमुख विमल आचार्यले होल्डिङ सेन्टर निरीक्षण गर्दा स्थानीय सरकारसँग समन्वयसम्म नगरेकामा आपत्ति प्रकट गरे । उनले निर्माण भएको संरचना नगरकै सम्पत्ति हुने भनिएकाले ११ बिघामध्ये चार बिघा जग्गा उपलब्ध गराएको स्मरण गराए ।

सरकारले पूर्वीनाका काँकरभिट्टाबाट नेपाल प्रवेश गर्ने कोरोना सङ्क्रमित नागरिकलाई उपचारसहितको सेवा दिन होल्डिङ सेन्टर निर्माण गरेको हो । नेपाली सेनाको चारआलीस्थित श्रीनाथ गण र तोपगाछीस्थित २१ नम्बर बाहिनी अड्डाले होल्डिङ सेन्टरको रेखदेख गर्दै छन् ।

चिकित्सकसहितको सेवा उपलब्ध हुने भनिएको होल्डिङ सेन्टरको फेब्रिकेटेड प्रविधियुक्त भवन छ । सरकारले झापासहित तराईका सात ठाउँमा सुविधायुक्त होल्डिङ सेन्टर निर्माण गर्दै छ ।

Comments

सम्बन्धित खवर