•  १२ श्रावण २०८१, शनिबार
  •  12:44:59 PM

कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै : कांग्रेसले गर्याे बहिष्कार : नेकपा एसले मत नदिने

- बैशाख ३१, २०८१ मा प्रकाशित



इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज (सोमबार) विश्वासको मत लिँदैछन् । बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने तयारी रहेको छ । प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले मुख्यमन्त्रीले विश्वासको मत लिने आजको कार्यसूचीमा रहेको जानकारी दिए ।

बैठकको कार्यसूची तयार गर्न आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोशी सरकारबारे अदालतमा मुद्दा विचाराधिन रहेकाले मुख्यमन्त्रीले तत्काल विश्वासको मत लिन नहुने बताएका थिए । तर, सत्तारूढ दलहरू एमाले र माओवादी केन्द्रले भने आज नै विश्वासको मतसम्बन्धी प्रस्ताव लिने कार्यसूची तय गर्नुपर्ने बताएको थियो ।

आजको बैठकअघि पुनः कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सभामखु विष्टले जानकारी दिए । कांग्रेसले पनि बिहान ८ बजे संसदीय दलको बैठक बोलाएको छ । कार्की वैशाख २७ गते तेस्रो पटक मुख्यमन्त्री बनेका थिए । निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस नेता केदार कार्कीले संकल्प प्रस्तावको निर्देशनविपरीत सदनबाट विश्वासको मत लिएनन् । पदबाट राजीनामा पनि दिएनन् ।

केदार अल्पमतमा परेको ठहर गर्दै बहुमत देखाएर हिक्मतकुमार कार्कीले गरेको दाबी बमोजिम उनलाई नै प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका थिए । प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि अघि बढाएको प्रक्रिया र हिक्मतको नियुक्तिविरुद्ध केदार कार्कीले सर्वोच्चमा रिट दायर गरेका छन् ।

सर्वोच्चले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै केदारले माग गरे बमोजिमको अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । रिटको पूर्ण सुनुवाइका लागि जेठ ९ गतेलाई पेशी तोकिएको छ । यता केन्द्रीय सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएको छ । समाजवादीको प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईले हिक्मतविरुद्धको मुद्ध सर्वोच्चमा विधाराधीन रहेकाले विश्वासको मत नदिने बताए ।

मुद्दा चलिरहेका बेला विश्वासको मत लिन खोज्नु गलत भएको उनको भनाइ छ । संवैधानिक प्रावधान अनुसार ३० दिनभित्र विश्वासको मत लिन सकिने भए पनि मुख्यमन्त्रीले हतारहतार विश्वासको मत लिन खोजेको राजेन्द्र बताउँछन् । उनले एकीकृत समाजवादीका सांसदले विश्वासको मत नदिने बताए । सरकारलाई समर्थन गर्ने या नगर्ने भन्ने कुरा पछि यकिन हुने राजेन्द्रको भनाइ छ ।

कांग्रेसले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने सम्भावना छैन । कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले विश्वासको मतका सम्बन्धमा सोमबार बिहान बस्ने संसदीय दलको बैठकले औपचारिक निर्णय गर्ने बताए । राप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्ने टुंगो गरिसकेको छैन। सत्ता गठबन्धनमा सामेल नभएकाले राप्रपाले मत नदिने सम्भावना बढी छ ।

यद्यपि, सोमबार बिहान बस्ने दलको बैठकले त्यस सम्बन्धमा निर्णय लिने राप्रपा प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बताए । यसअघि हिक्मत नेतृत्वको सरकारमा सहभागी राप्रपाले सरकार जोगाउन अन्तिमसम्म सहयोग गरेको थियो । जसपाकी एक्ली सांसद निर्मला लिम्बू भने विश्वासको मत दिने बताउँछिन् । सरकारलाई समर्थन गरिसकेका कारण विश्वासको मत दिने उनको भनाइ छ ।

Comments

सम्बन्धित खवर