•  १ जेष्ठ २०८१, मंगलवार
  •  6:52:36 AM

एक साताभित्र परीक्षा तालिका सार्वजनिक गर्ने बोर्डको तयारी

- माघ १८, २०७८ मा प्रकाशित


इटहरीः माध्यमिक शिक्षा परीक्षा र कक्षा १२ को परीक्षा सञ्चालनको जिम्मा पाएको राष्ट्रिय परीक्षा बोर्डले दुवै तहको परीक्षा तालिका एक साताभित्र प्रकाशित गर्ने भएको छ ।
स्थानीय तह निर्वाचनका लागि सरकार तयारीमा जुटेसँगै बोर्डले पनि परीक्षा छिटो सम्पन्न गर्न तदारुकता देखाएको हो ।

६३ जिल्लाबाट परीक्षा केन्द्र कायम भएर पत्र आएको र बाँकी १५ जिल्लाले पनि केही दिनमै आउने परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।

केन्द्रको सङ्ख्या गत वर्षभन्दा नबढ्ने गरी कायम गर्न सबै जिल्ला शिक्षा समन्वय एकाईलाई निर्देशन दिइएको रायमाझीले बताए । उनका अनुसार काठमाडौँसहित केही जिल्लाले केन्द्रको नाम पठाएपछि अन्य पक्रिया सुरू हुने छ ।

बोर्डले होम सेन्टर गरी परीक्षा गर्ने निर्णय गरे पनि परीक्षा केन्द्रका निरीक्षक हेरफेर गरिने जानकारी दिँदै उनले भने, ‘कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा नआउँदै परीक्षा लिनु परे विद्यालयमै परीक्षा केन्द्र राख्ने र नियन्त्रणमा आए केन्द्र कायम गरी परीक्षा लिने गरी व्यवस्थापन गर्न लागेका छौं ।’

एसइई परीक्षा वैशाख र कक्षा १२ को जेठमा गर्ने बोर्डको बैठकले यसअघि नै निर्णय गरिसकेकाले सोही आधारमा परीक्षा तालिका सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
स्थानीय तहको निर्वाचन जेठमा हुने लगभग पक्का भएकाले तालिका सार्वजनिक गर्न समस्या नभएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

Comments

सम्बन्धित खवर