•  ३ जेष्ठ २०८१, बिहीबार
  •  3:39:25 PM

योजनामा अनियमितता भएको भन्दै वडाध्यक्ष र उपभोक्ता समितिमाथि कारबाही माग

- माघ १८, २०७८ मा प्रकाशित


खोटाङ: खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा सञ्चालित विभिन्न योजनामा अनियमितता तथा भ्रष्टाचार भएको भन्दै सत्तारुढ गठबन्धन दलले वडाध्यक्ष, उपभोक्ता समिति लगायतलाई कारबाही गर्न माग गरेका छन् । 

वडामा सडक ढलान, एकीकृत वस्ती विस्तार, विद्यालय खेलमैदान र घेराबारा लगायतका योजना मापदण्ड विपरित सञ्चालन गर्दै अनियमितता तथा भ्रष्टाचार गरिएको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले सोमबार जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन–पत्र बुझाउँदै वडाध्यक्ष लिलाकुमार चौहान, उपभोक्ता समिति र योजना कार्यान्वयन गर्ने निकायमाथि कारबाहीको माग गरेका हुन् । 

मध्यपहाडी लोकमार्गदेखि वडाकार्यालय दोर्पाचिउरीडाँडासम्मको सडक ढलान, अन्नपूर्ण माविको खेलमैदान र घेराबारा निर्माण, सिस्ने हर्कटे सामुदायिक वनमा सडक विस्तार, खावाडाँडा एकीकृत वस्ती र वाबारी नमूना बस्ती विस्तारका क्रममा अनियमितता र भ्रष्टाचार भएको सत्तारुढ गठबन्धन दलको दाबी छ । वडाका योजनामा भएको अनियमितताको विषयमा कारबाहीका लागि प्रमुख जिल्ला खधिकारी फणिन्द्र दाहाललाई ज्ञापन–पत्र बुझाएको गठबन्धन दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंलाई बोधार्थ पठाएको जनाएको छ । 

मध्यपहाडी लोकमार्गदेखि वडाकार्यालयसम्मको सडक ढलानका क्रममा वडाध्यक्ष चौहानले भेला नगरी आफूखुसी उपभोक्ता समिति गठन गरेको, किर्ते कागजात खडा गरी बदनियतपुवर्क आफु अनूकुल उपभोक्ता समिति गठन गरेको, उपभोक्ता समितिका सदस्य नै समितिको अध्यक्ष एवं पदाधिकारीका बारेमा बेखबर रहेको, योजनाको लागत रकम, स्टीमेट र कामको प्रकृति बारे थाहा नपाएको, कतिपयलाई झुक्याएर समितिमा राखेको पाइएको ज्ञापन–पत्रमा उल्लेख छ । 

वडाध्यक्षले देखाउनका लागि उपभोक्ता समिति तयार पारे पनि मध्यपहाडी लोकमार्ग कालोपत्रेको काम गरिरहेको रमण गोल्डेन गुड जेभीका प्रतिनिधि साङ्गे शेर्पालाई सडक ढलानको काम गराएर सोही मूल्यांकन देखाएर भुक्तानी लिएको पाइएको, प्राविधिक स्टिमेट अनुसार सव–वेस नलगाएको, रडको प्रयोग नगरिएको, ड्रेन र पर्खाल नबनाई गुणस्तरहीन काम गरेको, गत १९ पुसमा अनुगमनमा पुगेको नगरपालिकाका प्राविधिकले गुणस्तरहीन काम भएको भन्दै काम रोक्का गरे पनि पटक–पटक निर्माण गर्न दुष्प्रयास गरेको तर स्थानीयको प्रतिरोधले रोकिएको, निर्माणकै चरणमा सडकको ढलान पड्किएको र सव–वेस नलगाइएकाले मुनिबाट ओढार परिसकेको सत्तारुठ गठबन्धन दलले जनाएको छ । 

अन्नपूर्ण माविको खेलमैदानबाट रमण गोल्डेन गुड जेभीले ढुंगा उत्खनन गर्दा पहिरो बनेको, विद्यालय व्यवस्थापन समिति, प्रशासन र अन्य सरोकारवालालाई जानकारी नदिई ढुंगा उत्खनन र दोहन गरेको, उत्खननका कारण पहिरोजस्तै बनेको खेल मैदानको भित्तामा टेवा पर्खाल र सिँढी बनाउन नगरपालिकाबाट २० लाख १६ हजार निकासा गरेको तर सो टेवा पर्खाल निर्माणका लागि रमण गोल्डेन गुड जेभीले गिटी, बालुवा, ढुङ्गा उपलब्ध गराएको पाइएको दावी गरिएको छ । नगरपालिकाबाट बजेट आएपछि अभिभावक, सरोकारवाला कसैलाई जानकारी नदिई विष्णुमायाँ थापालाई उपभोक्ता समितिको अध्यक्ष बनाएर काम गराइएको तर गुणस्तरहीन काम भएकाले निर्माण कार्य सकिए लगतै टेवा पर्खाल तथा सिँढी भत्किसकेको, सो योजनाको १० लाख रकम वडाध्यक्ष चौहानको निर्देशनमा उनकी श्रीमती रस्मिता चौहानको खातामा जम्मा गरिएको, वडाध्यक्षको निजि जग्गा प्लटिङ गर्दा निस्किएको माटो विद्यालयको खेल मैदानमा फालिँदा घेराबरा भत्काइएको र विद्यालय छेउको खोल्सी पुरिएर खोलो विद्यालयभित्र पस्ने खतरा देखिएको जनाइएको छ । 

यस्तै, भूकम्पबाट पीडित २० लाभग्राहीलाई खावाडाँडा एकीकृत वस्तीमा लगिएको तर मापदण्ड पूरा नगरी घर बनाइएको, लाभग्राहीको नाममा रकम निकासा भएपनि एकीकृत वस्तीका घरमा दुई वर्षदेखि छानो नछाइएको, झ्याल ढोका नथुनिएको र अलपत्र छाडिएको, पूर्वाधारको लागि प्रतिघर ४ लाखका दरले शहरी विकासबाट उपलब्ध भएको बजेटमार्फत बनाइनुपर्ने टेवा पर्खाल, विद्युतीकरण लगायतको काम अधुरो रहेको तर काम सम्पन्न भएको भनी फरफारक गरिसकिएको ज्ञापन–पत्रमा भनिएको छ । 

गठबन्धन दलले करिब २,५०० मिटर उचाइमा रहेको निर्जन, एकान्त र दुर्गम स्थानमा वाबारी नमूना बस्ती बनाउने काम अघि बढाइएको, केही स्थानीयको निजी र ऐलानी जमिनमा मापदण्ड विपरित घरको जग बसालिएको, कतिपय लाभग्राहीले आफुहरुलाई जबरजस्ती सो बस्तीमा सारेको गुनासो गरेको, घर निर्माणका लागि दिइएको बजेट सहकारी खोल्ने बहनामा प्रतिलाभग्राही ४० हजार वडाअध्यक्ष मार्फत असुल गरिएको, सो बस्तीमा पुग्ने सडक विना अनुमति सामुदायिक वनक्षेत्रभित्रबाट बनाइएको, सो स्थानमा मानव बस्ती बसाल्न असम्भव रहेको तथा आवास निर्माणमा लाभग्राहीको चासो नहुँदा काम अलपत्र देखिएको जनाइएको छ । 

यस्तै, डिभिजन वन, सामुदायिक वन उपभोक्ता समिति तथा सरोकारवालासँग सम्झौता नगरी सिस्ने हर्कटे सामुदायिक वनमा बाटो बनाइएको, बाटोको स्तरोन्नति गर्ने नाममा सामुदायिक वनमा थप बाटो बनाउने र जोखिमपूर्ण भीर भत्काएर चार महिनासम्म ढुङ्गा बेचबिखन गरेको, निर्धारित बाटोको क्षेत्रभन्दा करिब २०० मिटरमाथिको ढुङ्गा उत्खनन गरेको, उत्खनन गरिएको क्षेत्रमा ठूलो पहिरो जाने तथा वनपैदावर र पर्यावरणीय समस्या आउन सक्ने खतरा देखिएको सत्तारुढ गठबन्धन दलले उल्लेख गरेको छ । ज्ञापन–पत्रमा नगरपालिकामा सम्झौता नगरी गोल्डेन चक्रपथको नाममा दुई महिनाअघिदेखि डोजर चलाउन थालिएको, दाजुभाई कृषि फर्मको नाममा १० लाख निकासा भए पनि एकीकृत रुपमा कतै पनि कृषि कार्य नभएको जनाइएको छ । सत्तारुढ गठबन्धनले वडामा विगत ४ वर्षदेखि विनियोजित रकम, भएका काम तथा तिनको कागज–पत्र झिकाएर छानविनको माग गरेको छ । 

१० माघमा बसेको सत्तारुढ गठबन्धनको वडा स्तरिय नेताको बैठकको निर्णय अनुसार जिल्ला स्तरिय नेताको टोलीले ११ माघमा गरेको स्थलगत अनुगमनका क्रममा अधिकांश योजनाहरु तोकिएको मापदण्ड पुरा नगरिएको पाइएकाले योजनामा संलग्न वडाध्यक्ष चौहान, उपभोक्ता समिति र कार्यान्वयन गर्ने निकायमाथि कारबाहीका लागि माग गरिएको ज्ञापन–पत्रमा उल्लेख छ । वडाको योजनाको विषयमा कांग्रेसका तिर्थराज भट्टराई, नेकपा माओवादी केन्द्रका विसन राई, नेकपा एकीकृत समाजवादीका जलसेर राई, जनता समाजवादीका टिकाराम राई लगायतको टोलीले अनुगमन गरेको थियो । -न्यूज कारखाना 

Comments

सम्बन्धित खवर