•  २४ बैशाख २०८१, सोमबार
  •  12:45:21 PM

खोलाको जग्गामा आलिसान पार्क , इप्पील्याण्ड छिर्याे उपमहानगरकाे ड्राेजर

- चैत्र २२, २०८० मा प्रकाशित


इटहरी । सङ्घीय सरकारकाका तत्कालीन पर्यटन मन्त्री भानुभक्त ढकालले उद्घाटन गरेको इटहरीस्थित पर्यटकीय स्थल इप्पी ल्यान्ड एन्ड वाटर पार्क पनि खोलाको जग्गा भित्र बनेको भेटिएको छ । खोला सफाइ अभियानमा जुटेको इटहरी उपमहानगरको टोलीले बुधवार नाप जाँच गर्ने क्रममा पर्यटकीय स्थल इप्पील्याण्ड पनि खोलाकै जग्गामा बनेको प्रमाण भेटिएको हो । बुधवार उपमहानगरको टोलीले इप्पील्यान्डको सीमा क्षेत्र नाप जाँच गरी खोलाको जग्गामा बनेको कम्पाउन्ड भत्काएको हो । पछाडिको भागबाट खोलाको जग्गा मिचेर बनाइएको पर्खालमा उपमहानगरले बुधवार ड्रोजर चलाएको हो ।

६ बिगाहा जमिनमा फैलिएको पार्कले खोलाको के कति जमिन मिचेको छ नापजाच पछि पत्ता लाग्ने उपमहानगरका वातावरण शाखाका प्रमुख पुष्प नारायण चौधरीले बताए । खोलाको जग्गामा बनेको पर्खाल भत्काउँदै गर्दा अझै कति र कुन कुन क्षेत्र भत्किने हो अहिले केही भन्न नमिल्ने वातावरण शाखा प्रमुख चौधरीले बताए । पार्कले खोलाको जग्गाबाटै कम्पाउन्ड बनाएर तार जाली समेत गरेको पाइएको छ । उपमहानगरको टोलीले नाप जाँच पछि सबै अवैध संरचना हटाउन पार्क सञ्चालकलाई आग्रह गरेको थियो ।

फलामको डन्डी प्रयोग गरेर गरिएको घेरा बेरा पार्कका कर्मचारी आफैले हटाएपछि भित्रका अवैध संरचनामा उपमहानगरले ड्रोजर चलाएको हो । उक्त पार्कले मूल गेटको वाया तर्फ नै खालाको जग्गा मिचेर पर्खाल निर्माण गरेको देखिएको छ भने खोलाकै जग्गाबाट पुल उठाएर पार्क बनाएको छ । सो क्षेत्रमा एक स्काभेटर र एक ड्रोजर प्रयोग गरी अवैध संरचना हटाउने र खोला फराकिलो बनाउने काम भइरहेको वातावरण शाखा प्रमुख चौधरीले बताए ।

२०७७ फागुन १७ गते तत्कालीन पर्यटन मन्त्री भानुभक्त ढकालले सो पार्कको उद्घाटन गरेका थिए । करिब ३० करोडको लागतमा सञ्चालन भइरहेको इप्पील्याण्ड एन्ड वाटर पार्कमा इटहरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष भीम पौडेल सहित पूर्व एआइजी कृष्ण बस्नेत , पूर्व डिआइजी ज्ञानविक्रम शाह , र काठमान्डौ वु पी ल्यान्ड एम्युजमेन्ट वाटर पार्कका सञ्चालक जगतबहादुर बस्नेतको संयुक्त लगानी छ । उक्त पार्क इटहरी वडा नं २ को सेरा खोला किनारमा पर्दछ ।

उद्घाटनको भोली पल्टै खोलाको जग्गा मिचेर पार्क बनाइएको भन्दै विभिन्न सञ्चारमाध्यममा समेत समाचार प्रकाशित भएका थिए । इटहरी उपमहानगरका तत्कालीन प्रमुख द्वारिकालाल चौधरीले २ पटक सम्म ड्रोजर लिएर पुगे पनि रित्तै फर्किएका थिए । तर हेमकर्ण पौडेल नेतृत्वको स्थानीय सरकारले खोला तथा पैनीको जमिन ओगटेर बनाइएको संरचना हटाउने बारे अभियान नै चलाएपछि अहिले सो क्षेत्रका भौतिक संरचनाहरू हटाउने कामले तीव्रता पाएको छ ।

यसै बिच उपमहानगरले चलाएको खोला सफाइ अभियान अन्तरगत बुधवार सम्ममा थप ११ वटा संरचना भत्काइएको अभियानका संयोजक तथा वातावरण शाखा प्रमुख पुष्प नारायण चौधरीले बताए । जसमा ४ वटा स्थानीयहरूको भवन बाकीका चौपायाका खोरहरू रहेको उनले बताए । स्थानीयहरू आफैले ७ दिन भित्र घर भत्काउने लिखित सहमति जनाएपछि भवनहरू छाडेर चौपायाका खोरहरू भत्काइएको उनले बताए ।

Comments

सम्बन्धित खवर