•  २२ बैशाख २०८१, शनिबार
  •  3:21:49 AM

पशुपति जंगलमा मृत्त भेटिएकी सुस्मिताको साथमा भेटियो ‘सुसाइड नोट’

- चैत्र ३, २०८० मा प्रकाशित


काठमाडौँ । काठमाडौँको पशुपति क्षेत्रस्थित जंगलमा मृत फेला परेकी १९ वर्षीया सुस्मिता थापाको साथमा ‘सुसाइड नोट’ (आत्महत्या पत्र) भेटिएको छ । सुस्मिताको साथमा सुसाइड नोट फेला परेको र त्यस विषयमा अनुसन्धान भइरहेको गौशालास्थित महानगरीय प्रहरी वृत्तका डीएसपी केशव थेवेले जानकारी दिए ।

घटनास्थलमा भेटिएको सुसाइड नोटमा के लेखिएको छ भन्ने कुरा अहिले खुलाउन नमिल्ने बताउँदै उनले सुसाइड नोट उनैले लेखेको हो / होइन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको बताएका छन् । प्रहरीका अनुसार शुक्रबार पशुपति क्षेत्रको गोरखनाथ मन्दिर नजिकै जंगलमा रुखमा झुण्डिएको अवस्थामा सिन्धुलीको कमलामाई नगरपालिका–१ घर भई हाल कपनमा बस्ने सुस्मिता मृत भेटिएकी हुन् ।

डीएसपी थेवेका अनुसार सुस्मिता कपनमै रहेको रिलायन्स कलेजमा प्लस टु पढ्थिन् । कोठाबाट कलेज जान्छु भनेर हिँडेकी सुस्मिता दुई दिनपछि जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिएको पनि थेबेले जानकारी दिए । शुक्रबार बिहान मर्निङवाकमा गएका मानिसले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिलेसम्मको अनुसन्धानबाट उनले आत्महत्या नै गरेको जस्तो देखिने जानकारी दिंदै डीएसपी थेवेले थप अनुसन्धान जारी रहेको बताए । सुस्मिताको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा मा राखिएको छ ।

Comments

सम्बन्धित खवर