•  ३ जेष्ठ २०८१, बिहीबार
  •  8:00:28 AM

काठमाडौंमा श्रीमती र दुई बालिकाको हत्यापछि राजुले गरे आत्महत्या

- फाल्गुन ९, २०८० मा प्रकाशित


काठमाडौं । काठमाडौंको सीतापाइलामा एक व्यक्तिले श्रीमती र दुई बालिकाको हत्यापछि आफूले आत्महत्या गरेको पाइएको छ । सोलुखुम्बुका ‘राजु घिमिरे’ भन्ने राजु विश्वकर्माले सीतापाइलामा एक घरको कोठामा श्रीमती र दुई बालिकाको हत्यापछि नजिकको जंगलमा गएर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

श्रीमती, छोरी र एक नातिनीहो हत्यापछि उनले ससुरा र सासुलाई फोन गरेर घटनाका बारेमा जानकारी गराउँदै आफूले पनि आत्महत्या गर्न लागेको बताएको प्रहरीले जानकारी दिएको छ । प्रहरी वृत्त स्वयम्भुका प्रमुख डीएसपी पूर्णिमाकुमारी चन्दले श्रीमती र दुई बालिकाको हत्यापछि ह्वाइट गुम्बा नजिकै रहेको जंगलमा झुण्डिएको अवस्थामा राजुलाई फेला परेको जानकारी दिइन् ।

‘बिहान साढे ७ बजेको घटना रहेछ’ एउटा आफ्नै छोरी र अर्को नातिनीको हत्या गरेछन्’, एक प्रहरीले भने । उनका अनुसार राजुका दुई जना छोराहरु छन् । ‘बिहान ८ बजेतिर सासु रुकमाया श्रेष्ठ र ससुरा इन्द्रजितलाई फोन गरेर मैले तपाईंको छोरीलाई मारिसकेँ, घरमा गएर हेर्नुहोस् भनेका रहेछन्’, ती प्रहरी अधिकारीले भने, ‘फोनमा अब म पनि मर्छु भनेपछि ससुरालीले नै पहिले प्रहरीमा खबर गरेका रहेछन् ।’

उनीहरु भाडाको घरमा बस्दै आएका थिए । आफन्तले दिएको जानकारीअनुसार घरमा त्यस्तो झैझगडा गरेको पनि जानकारी पाइएको थिएन । राजुले मादक पदार्थ पनि सेवन नगर्ने हुँदा के कारणले हत्यापछि आत्महत्या भएको भन्ने अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ । अहिलेसम्म शव उठाइएको छैन । बद्रीप्रसाद बजगाइँको घरमा उनको परिवार भाडामा बस्दै आएको पाइएको छ ।

Comments

सम्बन्धित खवर