•  २३ बैशाख २०८१, आईतवार
  •  4:03:05 AM

कांग्रेस महासमिति बैठक आज पनि, अन्ततः गगनको ‘गठबन्धन नगर्ने’ प्रस्तावमा देउवा सहमत

- फाल्गुन ८, २०८० मा प्रकाशित


इटहरी । सत्तारुढ नेपाली कांग्रेसको महासमिति बैठक सोमबारबाट सुरु भएको छ । ललितपुरको गोदावरीमा सोमबारबाट भएको महासमिति बैठकमा आज (मंगलबार) विभिन्न प्रतिवेदन पेस गरिने भएको छ । मंगलबार बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्री समेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेस गर्ने तय भएको छ ।

अन्ततः गगनको वठबन्धन नगर्ने प्रस्तावमा देउवा सहमत

कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्ततः महामन्त्री गगन थापाको सांगठनिक प्रस्तावमा सहमति जनाएका छन् । सोमबार अपराह्नदेखि निवास बुढानिलकण्ठमा झण्डै पाँच घण्टा पदाधिकारी र पूर्वपदाधिकारी सहभागी बैठकमा महामन्त्री थापाको प्रस्तावबारे केन्द्रित रहेर छलफल भएको थियो ।

महामन्त्री थापाले महासमितिमा पेस गर्ने प्रस्तावमा ‘०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो, तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनावहरू हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौं र हाम्रा समर्थक–शुभेच्छुकलाई रूख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्नेछौं’ भन्ने लेखिएपछि सभापति देउवा असन्तुष्ट थिए ।

अहिलेका केही पदाधिकारी र केही पूर्वपदाधिकारीहरूले बुढानिलकण्ठ बैठकमा महामन्त्री थापाको प्रस्तावको समर्थन गरेका थिए । यसले देउवालाई समझदारीमा आउन दबाब परेको थियो । ‘कार्यकर्ता उत्साहित बनाउन नसक्ने, भोलिको चुनाव कांग्रेस एक्लै लड्छ भन्न नसक्ने ?’ भन्दै केही नेताहरूले सभापति देउवालाई प्रश्न सोधेका थिए ।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार केही नेताहरूले कांग्रेस आजै यति कमजोर छ भनेर सोधेपछि सभापति देउवा बोलेका थिए । उनले ‘ल ठीक छ, प्रस्तावको कुरा मानें, छपाइ गर्न पठाए हुन्छ’ भनेका थिए । महामन्त्री थापाको प्रस्तावमा सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय डिना, भिस्मराज आङ्दम्बे, बद्री पान्डे, गोपालमान श्रेष्ठ लगायतले बुढानिलकण्ठ बैठकमा समर्थन गरेको ती पदाधिकारीको भनाइ छ । बुढानिलकण्ठ बैठकमा शेखर कोइरालालाई बोलाइए पनि उनी उपस्थित भएनन् ।

पदाधिकारी बैठक चल्दचल्दै सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटेर फर्किएका थिए । महासमिति उद्घाटन सकिँदासम्म पनि सांगठनिक प्रस्तावमा सहमति हुन सकेको थिएन । अहिले नै गठबन्धनबारे प्रस्तावमा केही लेख्न नहुने अडान दुई दिनदेखि देउवाले राखेका थिए । अन्ततः देउवा अडानबाट पछि हटेका हुन् ।

Comments

सम्बन्धित खवर