•  १९ बैशाख २०८१, बुधबार
  •  10:04:47 AM

आईसीसी विश्वकप लिग–२ : नेदरल्यान्ड्सविरुद्ध नेपालको शानदार जित

- फाल्गुन ५, २०८० मा प्रकाशित


काठमाडाैं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले सानदार जित निकालेको छ। शनिबार भएको लिगको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको फराकिलो जित निकालेको हो। पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको नेपालले नेदरल्यान्ड्सविरुद्ध बलिङ र ब्याटिङमा दुवैमा शानदार पुनरागमन गरेको हो।

नेदरल्यान्ड्सले दिएको १ सय ३८ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। ओडीआई खेलमा नेपालले दोस्रो पटक नेदरल्यान्ड्सलाई हराएको हो। यसअघि सन् २०१८ मा भएको २ खेलको सिरिजमा नेपालले १ रनको जित निकालेको थियो। तेस्रो विकेटका लागि आशिफ शेख र अनिल शाहले १ सय १३ रनको अविजित साझेदारी गरेपछि नेपालले सानदार जित हात पारेको हो।

आशिफ ५४ र अनिल ५७ रनमा नटआउट रहे। ४५ बलको सामना गरेका आशिफले ८ चौका र १ छक्का प्रहार गरे। अनिलले ३६ बलमा ६ चौका र ४ छक्का हाने। अनिलले १३ औँ ओभरको चौथो बलमा अर्धशतक पूरा गरे। अनिलले २९ बलमा ५ चौका र ४ छक्का हान्दै अर्धशतक पूरा गरेका हुन्।
ओडीआईमा अनिल साहको यो दोस्रो अर्धशतक हो। यसअघि उनले घरेलु मैदानमा नै भएको क्यानडाविरुद्धको तीन खेलको सिरिजमा अर्धशतक हानेका थिए।

आशिफले १४.४ ओभरमा अर्धशतक पूरा गरे। ४३ बलमा ७ चौका र १ छक्का हान्दै आशिफले अर्धशतक पूरा गरेका हुन्। ओडीआईमा आशिफको यो १२ औँ अर्धशतक हो। अलराउण्ड प्रर्दशन गरेका ओपनर कुशल भुर्तेल २८ रन बनाउँदा क्याच आउट हुन पुगे। कुशल तेस्रो ओभरको पाचौँ बलमा भिभियन किंग्माको बलमा क्याच आउट हुन पुगे। कुशलले ११ बलमा ३ छक्का र २ चौका हाने। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्याण्डस् ३९ ओभरमा १ सय ३७ रन बनाउँदा अलआउट भयो।

नेदरल्याण्डस्लाई कम स्कोरमा रोक्न नेपालका कुशल भुर्तेलले ४ विकेट लिए। ललित राजवंशीले २ विकेट लिए। सोमपाल कामी र रोहित पौडेलले समान १ विकेट आफ्नो नाममा गरे। कुशलले ७ ओभरमा मात्र २० रन दिदा ४ विकेट लिए। कुशलले ३९ औँ ओभरको अन्तिम बलमा भिभियन किंग्मालाई २ रनमा पेभेलियनको बाटो देखाउँदै नेदरल्यान्ड्सलाई अलआउट गरे। ३५ औँ ओभरको दोस्रो बलमा कप्तान स्कट इवार्ड ३३ रन बनाउँदा कुशल भुर्तेलको बलमा एलबीडब्लु धरापमा परे। उनले नै ३३ औँ ओभरको अन्तिम बलमा आर्यन दत्तलाई १० रनमा भिम सार्कीको हातबाट क्याच आउट गराए।

रोहितले २८ औँ ओभरको दोस्रो बलमा सारिज अहमदलाई १ रनमा बोल्ड आउट गराए। कुशलले २७ ओभरको तेस्रो बलमा वेस्ली बेरिसलाई शून्यमै दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट गराए। नोक क्रोइस १२ रन बनाउँदा रन आउट भए। बास डे लिड २७ रन बनाउँदा ललितको बलमा बोल्ड आउट भए। ललितले नै १६ औँ ओभरको चौथो बलमा साइब्राण्ड एङगलडेब्रेचलाई २३ रनमा अनिल साहको हातबाट क्याच आउट गराएका थिए।

छैटौँ ओभरको अन्तिम बलमा ओपनर म्याक्स ओ डाउन १० रन बनाउँदा रन आउट भए। तीव्र गतिका बलर सोमपाल कामीले ओपनर माइकल लेभिटलाई पहिलो ओभरको तेस्रो बलमा शुन्य रनमा देव खनालको हातबाट क्याच आउट गराए।सोमपालले पहिलो ओभरमा नै मेडन विकेट लिएका थिए। नेपालले अब आगामी बुधबार तेस्रो खेल नामिबियासँग खेल्ने छ ।

Comments

सम्बन्धित खवर