•  १९ बैशाख २०८१, बुधबार
  •  6:40:06 PM

यु–१९ विश्वकप : नेपालले ‘सुपर सिक्स’ को पहिलो खेलमा आज बंगलादेशसँग खेल्दै

- माघ १७, २०८० मा प्रकाशित


काठमाडौं । जारी आइसीसी यू–१९ क्रिकेट विश्वकप अन्तर्गत आज (बुधबार) सुपर सिक्समा नेपालले बंगलादेशको सामना गर्दैछ । नेपालले समूह चरणमा टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै समूह ‘डी’ मा तेस्रो हुँदै सुपर सिक्समा पुगेको हो । त्यस्तै बंगलादेशले समूह चरणमा ३ खेलमा २ जित र एक हारसहित समूह ‘ए’ बाट दोस्रो हुदै सुपर सिक्समा पुगेको हो ।

नेपाल अहिले सुपर सिक्सको समूह १ मा समूह चरणको रनरेटको आधारमा पाँचौं स्थानमा रहेको छ । त्यसैले सेमिफाइनलमा पुग्ने नेपालले सुपर सिक्सका दुवै खेल जित्नै पर्ने अवस्था रहेको छ । समूह चरणमा न्यूजिल्याण्ड र पाकिस्तानसँग हार बेहोरेको नेपालले शुक्रबार अफगानिस्तानलाई रोमाञ्चक एक विकेटले पराजित गरेको थियो । आजको खेलपछि नेपालले शुक्रबार भारतविरुद्ध खेल्ने तालिका रहेको छ । सुपर सिक्समा रहेका ६ देशले २–२ खेल खेलेपछि शीर्ष स्थानका दुई देश सेमिफाइनलमा पुग्नेछन् ।

सुपरसिक्स नखेल्दै यू–१९ क्रिकेट विश्वकपबाट बाहिरियो नेपाल

नेपाल यू–१९ क्रिकेट विश्वकपबाट बाहिरिएको छ । आज बंगलादेशविरुद्ध सुपर सिक्सको खेल खेल्न लागेको नेपाल आफ्ना सुपर सिक्सका खेल नखेल्दै प्रतियोगिताबाट बाहिरिएको हो । मंगलबार सम्पन्न सुपरसिक्सका खेलमा भारत र पाकिस्तानले आ–आफ्ना खेल जितेसँगै सुपर सिक्समा रहेका नेपालसहितका तीन देश सेमिफाइनलको दौडबाट बाहिरिएका छन् । नेपालसहित न्यूजिल्याण्ड र आयरल्याण्ड अब सेमिफाइनलको दौडबाट बाहिरिएका हुन् ।

सुपर सिक्सको समुह १ मा भारत र पाकिस्तानको ६–६ अंक भएको छ भने बंगलादेशको २ अंक रहेको छ । त्यस्तै न्यूजिल्याण्डको २ अंक रहेको छ भने नेपाल र आयरल्याण्डको शून्य अंक रहेको छ । नेपालले समूह चरणमा अफगानिस्तानलाई पराजित गरेर २ अंक हासिल गर्दै सुपर सिक्समा पुगे पनि अफगानिस्तान सुपरसिक्समा नरहेकाले सो २ अंक नेपालको सुपर सिक्समा नजोडिदा नेपाल अंकविहीन भएको हो । अब नेपालले आज बंगलादेशसँग र शुक्रबार भारतसँग विजयी भए पनि सेमिफाइनल पुग्न असफल हुनेछ । योसँगै नेपाल सुपरसिक्सका २ खेल खेलेर घर फर्किने भएको छ ।

Comments

सम्बन्धित खवर