•  ३ जेष्ठ २०८१, बिहीबार
  •  8:57:09 AM

दुर्घटना अपडेट : त्रिशुलीमा खसेको गाडी भारतीय नम्बर प्लेटको बोलेरो, मानिस अझै भेटिएनन्

- माघ २, २०८० मा प्रकाशित


काठमाडौं । त्रिशूली नदीमा आज (मंगलबार) विहान खसेको गाडी भारतीय नम्बर प्लेटको बोलेरो भएको खुलेको छ । नारायणगढ–मुग्लिन सडक खण्डबाट त्रिशुली नदीमा खसेको गाडी भारतीय नम्बर प्लेटको बोलेरो (सिंगल क्याविन) भएको उद्धारमा खटिएको सशस्त्र प्रहरीको गोताखोर टोलीले पत्ता लगाएको हो ।

सशस्त्र प्रहरी बलको गोताखोर टोलीले पानी भित्र गएर खोजी गर्दा बोलेरो गाडी भेटिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार बीआर ०९ जीसी १४३० नम्बरको सिङ्गल क्याब भएको बोलेरो गाडी गोताखोर टोलीले पत्तो लगाएको हो । गोताखोरको टोलीले गाडीमा अहिलेसम्म कोही पनि मानिस नभेटिएको जनाएको छ । मंगलबार बिहान करिब ४ः५० बजेतिर इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुल नजिकबाट गाडी खसेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

गाडी खसेको सूचनापछि नेपाल प्रहरीसँगै उद्धारका लागि सशस्त्र प्रहरीको टोली समेत परिचालन भएको थियो । सशस्त्र प्रहरी बल विपत व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमाण्डमा सात जना गोताखोरसहित १० जना र नम्बर १७ गण चितवनबाट इन्सपेक्टरको कमाण्डमा १३ जनाको फौज परिचालन भएको थियो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक (इन्सपेक्टर) विशाल तामाङका अनुसार गाडी खसेको ठाउँमा भारतीय नम्बर प्लेट समेत फेला परेको छ । नम्बर प्लेट फेला परेअनुसार नदीमा खसेको गाडी भारतीय हुनसक्ने आंकलन गरिएको छ । पहिलो चरणको खोजीका क्रममा गाडीभित्र मानिस फेला नपरेको देखिए पनि पुनः दोस्रो चरणको खोजी हुने सशस्त्र प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर