•  १९ बैशाख २०८१, बुधबार
  •  12:31:26 PM

नगरबासीले साेचे जस्तै बन्दैछ इटहरी अस्पताल : भवन निर्माणपछि थपिने छ यस्ता सेवा सुविधा

- पुष २३, २०८० मा प्रकाशित


इटहरी । इटहरीमा बच्चाको डाक्टर कहिले आउँछन् ? कुन बार ? कुन क्लिनिकमा ? इटहरीमा हाडजोनिको राम्रो डाक्टर कहाँ, कहिले ? कस्को क्लिनिकमा आउँछन् ? अनि, महिलाको डाक्टर शनिबार आउँछन ? कि शुक्रबार ?  यी प्रश्नहरुले, इटहरीका नगरबासीलाई सँधै तनाव दिइरहन्छ । आफुलाई चाहिएको विशेषज्ञ डाक्टर कुन दिन, कुन क्लिनिकमा आउँछन, खोज्दा खोज्दा पत्ता लगायो, नाम टिपायो अनि लाईन बस्यो । डाक्टरले दबाई दिन्छन्, अनि कि त बिराटनगर आउनु भन्छन्, या त धरान आउनु भन्छन् । त्यस पछि विरामी लिएर धरान विराटनगरको यात्रा सुरु हुन्छ ।

यो इटहरीबासीको लागि बाध्यता नै थियो र छ पनि ? नियमित रुपमा कुनै पनि विशेषज्ञ डाक्टरहरु भेट्न नपाउँदाका दुःख हुन, यी सबै । इटहरीबासीले बषौँ देखि भोग्दै आएको यो समस्याबाट अहिले थोरै भएपनि राहत मिलेको छ ।  इटहरी अस्पतालमा नियमित रुपमा विशेषज्ञ डाक्टरहरु राखेर सेवा दिन सुरु गरेपछि इटहरीबासीलाई थोरै भएपनि राहत महसुस भएको छ ।

पछिल्लो एक बर्ष देखी इटहरी अस्पतालले विशेषज्ञ डाक्टरहरुलाई नियमति रुपमा अस्पतालमा राखेर स्वास्थ्य सेवा प्रदान गर्न थाले पछि इटहरीबासीले केही सहज महसुस गर्न थालेका छन् । अहिले इटहरी अस्पतालमा अहिले दैनिक रुपमा हाडजोर्नी, महिला तथा स्त्रि रोग विशेषज्ञ र बाल रोग विशेषज्ञले विरामीको उपचार गराईरहेका छन् । त्यसमा पनि एमविविएस डाक्टरले अन्य प्रकारका स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।

हाडजोर्नी,महिला तथा स्त्रि रोग विशेषज्ञ र बाल रोग विशेषज्ञले नियमित रुपमा स्वास्थ्य सेवा दिईरहेको इटहरी अस्पतालका मे.सु गुन्जन त्रितालले जानकारी दिए । ‘हाडजोर्नी विशेषज्ञ डाक्टरले विहान १० बजे देखी ४ बजे सम्म, महिला तथा स्त्रि रोग विशेषज्ञ २ जना महिला डाक्टर हुनुहुन्छ, एकजना विहान १० देखी २ बजे सम्म र अर्को डाक्टर चाँही १० देखी ४ बजे सम्म नै बसेर सेवा दिनुहुन्छ,’ मे.सु त्रितालले भने ‘अर्को बाल रोग विशेषज्ञ डाक्टरले पनि विहान १० देखी ४ बजे सम्म नै सेवा दिनुहुन्छ । त्यसपछि अरु एमविविएस डाक्टरहरुले अन्य प्रकारका विरामीलाई चेकजाँच गर्नुहुन्छ ।’

योसँगै इटहरी अस्पतालमा मुटु रोग विशेषज्ञ, मृगौला रोग विशेषज्ञ डाक्टर ल्याएर सेवा विस्तार गर्ने योजना रहेको मे.सु त्रितालले जानकारी दिए ।  ‘मुट र मृगौला रोग विशेषज्ञ डाक्टरहरुलाई पनि ल्याएर सेवा विस्तार गर्ने तयारी भईरहेको छ, पार्किङ एरियाको ठाउँलाई व्यवस्थापन गरि कोठा मिलाउने काम भएपछि सेवा सुरु गर्ने तयारी गर्दैछौँ,’ मे.सु गुन्जन त्रितालले जानकारी दिए ।

इटहरी अस्पतालले सेवा विस्तार गरेसँगै उपचारका लागि आउने विरामीहरुको चाप बढ्न थालेको छ । पछिल्लो एक बर्ष यता नियमित रुपमा विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य चेकजाँच गर्न थाले पछि इटहरी अस्पतालमा उपचारका लागि आउने विरामीहरुको चाप बढेको हो ।  विशेषज्ञ डाक्टरको सेवा लिन चाहनेहरु पनि इटहरी अस्पताल आउन थालेका छन् । सामान्य प्रकृतिका स्वास्थ्य समस्या भएका विरामीहरुको ठुलो भिड नै लाग्न थालेको छ ।  ज्वरो आउने, रुघाखोकी, पखला लाग्ने , पेट दुख्ने, ढाड दुख्ने जस्ता सामान्य प्रकृतिका स्वास्थ्य सेवा लिन पनि बजारका नीजि क्लिनिकहरुमा जानुपर्ने बाध्यता अहिले अन्त्य भएको छन् ।

ल्याब परिक्षणमा उस्तै छ भिड

इटहरी अस्पतालमा परिक्षणका लागि आउने विरामीको संख्या अत्यधिक रुपले बढेको अस्पताल प्रशासनले बताएको छ । विशेष गरी रगत जाँच गर्ने, एक्स रे गर्ने, भिडियो एक्स रे, इसिजी गर्ने विरामीहरुको संख्या बढेको छ । नियमित स्वास्थ्य समस्या लिएर आउने विरामीको रोग पहिचानका लागि गरिने रगत,पिसाब,एक्स रे, भिडियो एक्स रे का भन्दा बाहिर सुगर जाँच, भिटामिन डि,थाईराईड लगायतका चेकजाँच गर्न इटहरी अस्पताल पुग्ने गरेका छन् ।

सुगर प्रेसका विरामीलाई इटहरी अस्पतालको रगत जाँच सेवाले सहज बनाईदिएको छ । सुगरका विरामीहरु नियमित गर्नुपर्ने रगत जाँचका लागि इटहरी अस्पतालको ल्याबमा पुग्ने गरेका छन् । इटहरी प्रशासनले दिएको जानकारी अनुसार चालु आर्थिक बर्षको मंसिर सम्मको तथ्यांक अनुसार १२, हजार ७६९ जनाले सुगर जाँच गराएका छन् ।

५ हजार ६८९ जनाले थाईराईड जाँच गराएका छन् भने २ हजार ८६१ जनाले भिटामिन डिको जाँच गराएका छन् ।  विशेष गरी सुगर प्रेसर भएका जेष्ठ नागरिकहरु सहज सेवाका लागि जाँचका लागि इटहरी अस्पताल जाने गरेका छन् ।  इटहरी ९का लालु बस्नेतले नियमित रुपमा रगत जाँच गर्नका लागि आउने गरेको बताए । पहिलो बजारको क्लिनिकमा जाने गरेकोमा अहिले इटहरी अस्पतालमा नै सजिलो भएकाले इटहरी अस्पताल नै आउने गरेको बताए ।

वीमाका कारण पनि धेरै व्यक्तिहरु स्वास्थ्य परिक्षणका लागि आउने गरेको इटहरी अस्पतालकी प्रशासन शाखाकी पूजा भट्टराईले जानकारी दिईन ।  ‘वीमा बाट हुने भएकाले धेरै व्यक्तिहरु २÷३ महिनामा विरामी नभए पनि विभिन्न स्वास्थ्य परिक्षणका लागि आउने गर्नुभएको छ, अरु नियमित स्वास्थ्य समस्या लिएर आउने विरामीको संख्या त अझ धेरै छ,’ भट्टराईले बताईन ।  विरामीहरुको चाप बढेसँगै इटहरी अस्पतालले टोकन सिस्टम लगाएको छ । पूजा लिनका लागि टोकन सिस्टम लगाईएको छ । टोकनका आधारमा पूर्जा बनाउने र सोही आधारमा ओपिडीमा डाक्टरसँग भेट गर्ने व्यवस्था मिलाईएको छ ।

टोकन लिएका विरामीलाई बस्नका लागि कुर्सीको व्यवस्थापन गरिएको अस्पतालकी प्रशासन शाखाकी पूजा भट्टराईले जानकारी दिईन ।  कुनै पनि विरामी इटहरी अस्पताल आईसके पछि चेकजाँच, स्वास्थ्य परिक्षणका लागि कुनै अप्ठ्यारो तथा झन्झट व्यवहोर्नु नपर्ने उनले बताईन । कुनै विरामीलाई केही समस्या भए सुरक्षामा खटिएका सुरक्षा गार्डहरुको पनि सहजिकरण गरिदिने गरेको उनले सुनाईन ।

स्वास्थ्य उपचारसँगै विरामीले डाक्टरले लेखिदिए अनुसारका औषधीहरु पनि सहज रुपमा उपलब्ध गराउने गरेको अस्पतालले दाबी गरेको छ । विशेष गरी वीमा वापत प्राप्त गर्ने सुविधाका औषधीहरु सहज रुपमा वितरण गर्ने गरेको अस्पतालको भनाईं छ । औषधी वितरणमा कुनै समस्या नभएको अस्पताल प्रशासनले दावी गरेको छ ।

२४ घण्टा इमरजेन्सी 

इटहरी अस्पतालले पछिल्लो एक बर्ष देखी २४ सै घण्टा इमजेन्सी सेवा दिईरहेको छ । इमरजेन्सीमा ५ बेड मार्फत सेवा दिईरहेको अस्पताले जनाएको छ । एमविविएस डाक्टरको नेतृत्वमा इमरजेन्सी सेवा प्रदान गरिरहेको अस्पतालको भनाई छ ।  इमरजेन्सीमा आएका विरामीहरुलाई थप उपचार गर्नुपर्ने अवस्था आए वा ओपीडीमा आएका विरामीलाई थप उपचार गर्नुपर्ने भएमा जनरल वार्डको व्यवस्था गरिएको छ । १५ वटा वेडमा विरामीलाई  राखेर उपचार गर्दै आएको अस्पतालले जनाएको छ । आवश्यक सेवा सुविधा सहितको जनरल वेड मार्फत विरामीको उपचार गर्दै आएको अस्पतालको भनाई छ ।

नयाँ भवनमा थप सेवा विस्तार गरिने  

इटहरी अस्पतालको हालको भवनबाट थप सेवा विस्तारका लागि समस्या भईरहेको अस्पतालका मे.सु गुन्जन त्रितालले बताए । भवन सानो छ, प्रयाप्त कोठाहरु छैनन्, चाहेर पनि थप सेवा विस्तार गर्न सकिरहेको छैन मे.सु त्रितालको भनाई छ ।  ‘हामीसँग भवन र कोठाको अभाव छ, चाहेर पनि थप सेवा विस्तार गर्न सकिरहेको छैन’ मे.सु त्रितालले भने,‘अब थप सेवा विस्तारका लागि नयाँ भवन बनेर सञ्चालनमा आएपछि मात्रै थप सेवा विस्तार गर्न सकिने अवस्था छ । ’

संघिय सरकारले दिएको बजेटबाट अस्पताल परिसरमै १५ वेडको नगर अस्पतालको भवन निर्माणधिन छ । समयमै सकिनुपर्ने भवन निर्माणमा ढिलाई हुँदा अस्पतालको सेवा विस्तारमा समस्या देखिएको छ ।  तर इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले अस्पतालको बन्दै गरेको भवन चाँडै सक्ने गरी काम भईरहेको बताउँछन् ।

 अस्पतालको सेवालाई विस्तार गर्न तयारी भईरहेको मेयर पौडेलले बताए । इटहरी अस्पतालको स्तर उन्नतिका लागि सिटिस्कान र एमआरआई मेसिन थप गर्ने तयारी भईरहेको मेयर पौडेलले बताए । त्योसँगै केही समय अघि रोटरी क्लबले दिएको डाईलासिस मेसिनलाई सञ्चालनमा ल्याउने तयारी भईरहेको पनि मेयर पौडेलले जानकारी दिए ।

हिजो राजनितिक र प्रशासनिक रुपमा ओझेलमा परेको इटहरी अस्पतालमा अहिले स्थानिय सरकारले गरेको लगानीको केही प्रतिफल देखा पर्न थालेको छ । तर दिर्घकालिन रुपमा यहि रुपले अगाडि बढाउन भने अझै ठुलो आर्थिक स्रोतको आवश्यकता पर्छ ।  सुविधा सम्पन्न अस्पताल सञ्चालनका लागि स्थानिय सरकारले दिर्घकालिन आर्थिक स्रोतको व्यवस्थापन गर्नुपर्ने चुनौति देखिन्छ । प्रदेश र संघिय सरकारसँग समन्वय गर्दै अस्पतालका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, दरबन्दी सहितको दक्ष जनशक्ति, र औजार उपकरणको व्यवस्थापन गर्नु अहिलको मुख्य चुनौति देखिएकोछ । यसका लागि स्थानिय सरकारले वुद्धिमत्तापूर्ण निर्णयको खाँचो छ ।

Comments

सम्बन्धित खवर