•  २० बैशाख २०८१, बिहीबार
  •  6:19:38 AM

झापाका विनोद १६ वर्षदेखि मलेसियामा सम्पर्कविहीन

- पुष २३, २०८० मा प्रकाशित


झापा । वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएका अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन छन् । उनी २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया गएका थिए ।

‘२२ वर्षको हुँदा मलेसिया गएको थियो’, विनोदकी ६६ वर्षीया आमा सुकमायाले भनिन्, ‘अहिले ४२ वर्ष उमेरको भयो । कहाँ छ, के गर्दैछ, केही अत्तोपत्तो छैन ।’ उनी मलेसिया गएपछि चार वर्षसम्म परिवारको सम्पर्कमा थिए । विनोदका दुई भाइ र दुई बहिनी छन् । माइला भाइ भीम घरमा आमा–बुबाको हेरचाह गरेर बसेका छन् भने कान्छा भाइ टेकबहादुर विदेश जाने क्रममा छन् । दुई जना बहिनी रुमा र लीलाको बिवाह भइसकेको छ ।

विनोदका ७१ वर्षीय बुबा वीरबहादुर घरमै छन् । ‘१६ वर्षअघि म बिरामी परेका बेला एकपटक कस्तो छ बुबा भनेर सोधेको थियो, त्यसपछि खबर छैन’, उनले भने । सुकमायाले ९० हजार ऋण काढेर विनोदलाई आफ्नै भाइ नरबहादुर र स्थानीयवासी विकास सुब्बा (डोले) मार्फत काठमाडौँको मेनपावरबाट मलेसिया पठाएको बताइन् ।

उनले मलेसिया गएपछि विनोदले ९० हजार ऋण तिर्ने पैसा र आमाबुबाको उपचारका लागि थप २० हजार पठाएको बताइन् । आमा सुकमाया र बुबा वीरबहादुरले छोरा जहाँ, जस्तो अवस्थामा भए पनि खोजी गरिदिन सबैलाई आग्रह गरेका छन् । स्थानीय हरिचन्द्र राउतले नौ वर्षअघि मलेसियामा विनोदसँग भेट भएको बताएका छन् । त्यसबेला विनोदले पेनाङस्थित बल्छी बनाउने कम्पनीमा काम गरिरहेको आफूलाई बताएको हरिचन्द्रले बताए ।

मलेसियामा हरिचन्द्र र विनोदको कोठा नजिकै रहेको थियो । उनीहरुको खाना खाने ठाउँ एउटै थियो । विनोदसँग त्यहीँ भेट भएको हरिचन्द्रले बताए । अवधि पुगेर हरिचन्द्र स्वदेश फर्किए । विनोद कुन मेनपावर कम्पनीमार्फत मलेसिया गएका थिए भन्ने बारेमा उनका बुबा र आमाले बताउन सकेनन् । तर, मेनपावर कम्पनीसम्म पुर्‍याउने नातेदारले मेनपावरसँग सम्पर्क गराउने आश्वासन दिएको बताइएको छ ।

Comments

सम्बन्धित खवर