•  २२ बैशाख २०८१, शनिबार
  •  3:20:10 AM

माघ ६ देखि ‘इलाम गोल्डकप’, धमाधम बन्दै छ अस्थायी ‘प्यारापेट’

- पुष १५, २०८० मा प्रकाशित


इलाम । इलाम फुटबल खेलका लागि उर्वर भूमि मानिन्छ । लोकबन्दु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठ जस्ता राष्ट्रिय खेलाडीहरुको जन्मभूमि हो इलाम तर जिल्लामा कतै पनि पक्की प्यारापेटसहितका स्तरीय खेल मैदान छैनन् ।

पक्की प्यारापेटको अभावमा हरेक प्रतियोगिता सञ्चालन गर्दा आयोजकले लाखौँ खर्च गरेर बाँसको अस्थायी प्यारापेट निर्माण गर्नुपर्ने बाध्यता छ । आगामी माघ ६ देखि १३ गतेसम्म इलाम सदरमुकामस्थित ठूलो टुँडीखेलमा अन्तर्राष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्डकप’ हुँदैछ । गोल्डकप सञ्चालनका लागि तीन हजार बढी बाँस प्रयोग गरेर अस्थायी प्यारापेट बनाउन थालिएको आयोजक रेडहर्ष फुटबल क्लबका सचिव प्रकाश घिमिरेले बताए ।

सदरमुकामको खेल मैदानमा पक्की प्यारापेट नभएपछि बाँसको अस्थायी प्यारापेट निर्माण गर्नु आयोजकको बाध्यता भएको सचिव घिमिरेले बताए । इलामका अधिकांश क्षेत्रमा आयोजना हुने गोल्डकपमा बाँसको अस्थायी प्यारापेट प्रयोग गर्ने गरिएको छ । अस्याथी प्यारापेट करिब चार हजार दर्शक अटाउने क्षमताको रहेको सचिव घिमिरेले जानकारी दिए । टुँडिखेलको तीन क्षेत्रतर्फ अस्थायी प्यारापेट निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए ।

अस्थायी प्यारापेट निर्माणसँगै इलाम गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । ‘सदरमुकामको मुख्य बजारसँगै रहेको टुँडीखेलमाल स्थायी प्यारापेट नभएकाले बाँसको अस्थायी प्यारापेट निर्माण गरिरहेका छौँ’, सचिव घिमिरे भने, ‘दर्शकको सुविधाका लागि प्यारापेट निर्माणको काम ७५ प्रतिशत सकिएको छ ।’ मैदानको एकातर्फ जमिनको भू–भाग भएकाले बाँकी तीन भागमा बाँसको अस्यायी प्यारापेट निर्माण गरिएको घिमिरे बताए । टुँडीखेल स्तरोन्नति र प्यारापेट निर्माणका लागि रु १० लाख खर्च लागेको उनले बताए ।

गोल्डकपमा आयोजकसहित नेपालका ‘ए’ डिभिजन क्लब र भारतका क्लब गरी आठ टोलीको सहभागिता रहने आयोजक रेडहर्ष फुटबल क्लबका अध्यक्ष साङ्गे योल्मुले जानकारी दिए । उनका अनुसार आयोजक रेडहर्ष फुटक्बल क्लबसहित ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी), एकाडेमी रोयल एक्सिलेन्सा डुबाला क्यामरुन, पाँचथर युवा क्लब, झापा युनाइटेड, जागृती युवाक्लब इटहरी, बागमती युवाक्लब र विदेशी टोली भारत दार्जिलिङको सहभागिता रहनेछ । गोल्डकप विजेताले नगद पाँच लाख र उपविजेताले तीन लाख पाउने छन् ।

यसअघि सदरमुकाममा माईभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप सञ्चालन हुँदै आएको थियो तर छैटौँ संस्करणसम्म सञ्चालन भए पनि विविध कारण देखाउँदै स्थगित भएपछि पहिलो पटक इलाम गोल्डकप सुरु हुन लागेको हो ।

Comments

सम्बन्धित खवर