•  २० बैशाख २०८१, बिहीबार
  •  4:02:32 PM

पाथीभराकाे भेटी साडे ८ कराेड , दुई महिनामै उठयाे ६८ लाख बढी , सुन मात्रै ९८ तोला बढि

- पुष १३, २०८० मा प्रकाशित


ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिरमा दुई महिनाको अबधिमा ६८ लाख बढि भेटी रकम संकलन भएको छ । गएको कार्तिक र मंसिर महिनामा मात्रै भक्तजनले चढाएको भेटी रकम ६८ लाख ११ हजार ११० रुपैँया रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिले बिहिबार पत्रकार सम्मेलन मार्फत उक्त दुई महिनाको विवरण सहित बैंकमा मौज्दात रकमबारे जानकारी दिएको हो । उक्त दुई महिनाको समेत गरी ८ करोड ३५ लाख २३ हजार ५४८ रुपैँया बैंकमा मौज्दात रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । नेपाल बैंक सहित विभिन्न ५ वटा बैंकमा मौज्दात रहेको जनाईएको छ ।

यसैबीच पछिल्लो पटक रिफाईन नगरिएको ९८ तोला बढि सुन संकलन भएको छ । पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन संकलन गरि तौल गरिएको क्षेत्र विकास समितिले जनाएको हो । उक्त सुन रिफाईन गरिएको छैन । यस्तै सोहि अवधिमा नै ९२ किलो ६५० ग्राम चाँदी संकलन भएको छ । चाँदी समेत रिफाईन गरिएको छैन ।

गत वर्षको भदौ ७ देखि गएको मंसिर १६ गते सम्म मन्दिरमा संकलित उक्त रिफाईन नगरि तौल भएको सुन, चाँदी रिफाईन गर्ने तयारी भएको बताईएको छ । यस अघि दुई वर्षको अवधिमा संकलित सुन चाँदीको विवरण एकिन भएको थियो । उक्त विवरण अनुसार २०७७ साल भदौ १८ देखि २०७९ साल भदौ ६ गते सम्मको रिफाईन गरिएको सुन ८६ तोला ९३ लाल रहेको छ । यस्तै ६ हजार ५३५ किलो ७ सय ७५ ग्राम तामा र १६ हजार ३ सय ६८ किलो १ सय ग्राम घण्टी समेत तौल गरेर भण्डारण गरिएको जनाईएको छ ।

जम्मा भएको सुन, चाँदी, तामा र घण्टीलाई व्यवस्थापन गर्ने सम्बन्धमा थप बैठक बसी निर्णय लिईने समितिले जनाएको छ । पाथीभरा क्षेत्र विकास समिति २०५३ सालमा गठन भएपनि पाथीभरामा संकलन भएको भेटीघाटी २०७६ सालदेखि पाथीभरा क्षेत्र विकास समितिले हेर्दै आएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले बताउनुभएको छ ।

तत्कालिन जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनको संयोजकत्वमा भेटीघाटी व्यवस्थापन समिति गठन गरेर भेटीघाटी व्यवस्थापन हुँदै आएको थियो । पुन उक्त समिति विगठन गरी पाथीभरा क्षेत्र विकास समितिले नै हाल व्यवस्थापन गर्दै आएको छ । २०७६ साल अघि सम्मको भेटीघाटी भने पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिले गर्दै आएको थियो ।

यता पाथीभरामा मंसिर पछि संकलित भेटीघाटी भने थप कर्मचारी व्यवस्थापन गरेर गणनाका लागि आवस्यक तयारीमा खटाईएको हाङबाङले बताउनुभयो । पाथीभरा क्षेत्रलाई थप व्यवस्थित गर्दै लैजान केहि जनशक्ति थपेर काम भईरहेको उहाँको भनाई छ । पाथीभरा क्षेत्रको सरसफाई, भेटीघाटीलाई समयमै व्यवस्थापन गर्न र पाथीभराको प्रचारप्रसार सहितका सम्पुर्ण गतिविधिलाई आम मानिसमा पुर्‍याउन थप कर्मचारी व्यवस्थापन गरेर अघि बढेको उहाँले बताउनुभयो । पाथीभरामा संकलित भेटीघाटीलाई हरेक महिनामा सार्वजनिक गर्ने गरि आवश्यक तयारी भएको कार्यकारी निर्देशक हाङबाङले बताउनुभएको छ ।

Comments

सम्बन्धित खवर