•  २३ बैशाख २०८१, आईतवार
  •  3:33:50 PM

‘गाजा मानवताको सबैभन्दा अन्धकार समयमा पुग्यो’

- मंसिर २०, २०८० मा प्रकाशित


एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गाजापट्टी मानवताको ‘सबैभन्दा अन्धकार समय’ नजिक पुगेको बताएको छ । प्यालेस्टिनी क्षेत्रमा मंगलबार सञ्चारकर्मीसँगको कुराकानी गर्दै डब्लूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले गाजापट्टीको स्थिति झन् झन् बिग्रिँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

‘स्थिति प्रत्येक घण्टा बिग्रिँदै गइरहेको छ । यहाँ दक्षिणी इलाकासहित चारैतिर तीव्र बमबारी भइरहेको छ । धेरै मानिस हतास छन् र करिब सबै मानिस आघातको अवस्थामा छन्’, उनले भने, ‘हामी मानवताको सबैभन्दा अन्धकार घडीको नजिक छौँ । यो बमबारी र जीवनको मूर्खतापूर्ण क्षति रोकिनु पर्छ ।’ उनले अब दिगो युद्धविराम आवश्यक रहेको बताए ।

हमासको लडाकू समूहले अक्टोबर ७ मा गरेको हमलापछि इजराइलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ । बन्धक सबैलाई मुक्त गर्ने र हमासलाई समाप्त पार्ने बताउँदै आएको छ । हमासको हमलामा इजराइलमा अधिकांश सर्वसाधारणसहित एक हजार २०० को मृत्यु भएको थियो । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले युद्धमा गाजामा करिब १५ हजार ९०० जना मारिएको बताएको छ । इजराइली सेनाले मंगलबार दक्षिणी गाजामा हमास लडाकूसँग युद्ध शुरु गरेको छ ।

Comments

सम्बन्धित खवर