•  २३ बैशाख २०८१, आईतवार
  •  3:11:07 AM

धनकुटाका कृषकलाई सुन्तला टिप्न भ्याइ नभ्याइ

- मंसिर १४, २०८० मा प्रकाशित


धनकुटा । धनकुटाको सहिदभूमि गाउपालिका–३ छिन्ताङ गाउँ यतिबेला सुन्तलाले पहेंलै भएको छ । बोटरभरी लटरम्म सुन्तला फलेका छन् भने किसानलाई सुन्तला टिपेर बिक्री गर्न भ्याइ नभ्याइ छ ।

अहिले सुन्तला खरिदको लागि व्यापारीहरू गाडी लिएर बगानमै पुग्छन् । व्यापारीलाई किसानले पहिल्यै क्रेटमा सुन्तला हालेर तयारी अवस्थामा राखिदिन्छन् । गाउँका किसानको मुख्य आम्दानीको स्रोत नै सुन्तला हो ।

खाद्य बालीको विकल्पमा सुन्तला खेती गरी राम्रो आम्दानी गर्न सफल भएको सहिदभूमि गाउँपालिका–३ छिन्ताङका कृषक डिगबहादुर राई बताउँछन् । उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष उत्पादन दोब्बर भएको छ ।

एक सय बोटमा सुन्तला फलाएका राईले पाँच लाखमा ठेक्का दिएका छन् । परम्परागत रूपमा धान, मकै, कोदो, गहुँ खेतीको विकल्पमा किसानले गाउँभरि सुन्तलाका बिरुवा लगाएका छन् ।

गाउँका प्रायः सबैका करेसाबारी, खेतबारीमा सुन्तलाका बिरुवा छन् । पूर्व फर्किएको भिरालो पाखोमा हाँगा नुगाउने गरी लटरम्म फलेका सुन्तला पाकेर पहेलै भएको देखिन्छ ।

एउटा घरकाले ५० देखि ५०० बोटसम्म सुन्तला छ । छिन्ताङकी मोहनकुमारी राईले सडक र यातायात सुविधा भएकाले सुन्तलाको बजारीकरणमा सजिलो भएको बताइन् । ३५ बोटमा सुन्तला फलाएकी राईले आईतबार मात्र २० हजारको सुन्तला घरबाटै बेचिन् । ‘यहाँको सुन्तला गुलियो र रसिलो छ भन्दै व्यापारी बगानमै लिन आउँछन्,’ राईले भनिन्, ‘माग धान्नै मुस्किल छ ।’

Comments

सम्बन्धित खवर