•  २३ बैशाख २०८१, आईतवार
  •  8:08:08 AM

विश्वकप फुटबल छनोट : नेपाल आज यमनसँग खेल्दै

- मंसिर ५, २०८० मा प्रकाशित


काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल आज (मंगलबार) यमनसँग खेल्दैछ । समूह ’एच’ मा रहेका नेपाल र यमनबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बेलुका ७ बजे शुरु हुनेछ । नेपालले घरेलु मैदानमा आज दोस्रो चरणको दोस्रो खेल खेल्न लागेको हो ।

फिफा वरीयतामा यमन १५६ औं र नेपाल १७३ औं स्थानमा छ । यसअघि गएको बिहीवार दुबईमा भएको पहिलो खेलमा समूहकै सबैभन्दा बलियो टोली यूएईसँग नेपाल ४–० गोलले पराजित भएको थियो । यमन पनि पहिलो खेलमा घरेलु मैदानमा बहराइनसँग २–० गोलले पराजित भएको थियो । खेलअघि हिजो भएको पत्रकार सम्मेलनमा नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यमनसँगको खेलका लागि टोली तयार रहेको र जितकै लागि खेल्ने जानकारी गराएका थिए ।

कप्तान किरणकुमार लिम्बुले यूएईसँगको हारलाई बिर्सेर अघि बढ्नुपर्ने र त्यसैअनुसार यमनसँग खेलका लागि उत्साहित रहेको बताएका छन् । नेपाल र यमनबीच आज हुने खेलका लागि साधारण प्यारापिटतर्फ ४ सय र भीआईपी प्यारापिटतर्फ १ हजार रुपैयाँ टिकट दर कायम गरिएको अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ ।

नेपाल र यमनले अहिलेसम्म चार खेल खेलेका छन् । तर नेपालले यमनलाई हराउन सकेको छैन । सन् २०१७ मा नेपालमै भएको एएफसी कप छनोटको खेलमा यमनलाई गोलरहित बराबरीमा रोक्नु नै नेपालको उपलब्धि हो । एसियन कप छनोट अन्तर्गत नै २०१८ मा दोहामा भएको खेलमा नेपाल यमनसँग २–१ गोलले पराजित भएको थियो । त्यसअघि सन् २००० मा भएको एसियन कप छनोटको खेलमा नेपाल यमनसँग ३–० गोलले र सन् २०१४ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल यमनसँग २–० गोलले पराजित भएको थियो ।

नेपाल छनोटको पहिलो चरणमा लाओसलाई हराएर दोस्रो चरणमा पुगेको हो । दोस्रो चरणको समूह एचमा नेपालसहित यूएई, बहराइन र यमन रहेका छन् । समूहको शीर्ष दुई स्थानमा रहने टोली एसिया कपका साथै विश्व कप छनोटको अर्को चरणमा पनि पुग्ने छन् । तेस्रो र चौथो स्थानमा रहने टोली एसिया कपमा पुग्न फेरि खेल्नु पर्नेछ ।

Comments

सम्बन्धित खवर