•  २३ बैशाख २०८१, आईतवार
  •  11:04:31 PM

मलेसियाले प्यालेस्टिन र हमाससँगको सम्बन्ध जारी राख्ने, इजरायललाई देशको मान्यता नदिने

- कार्तिक २३, २०८० मा प्रकाशित


एजेन्सी । मलेसियाले प्यालेस्टिन र हमास समूहसँग सम्बन्ध राख्ने यसअघिको निर्णयलाई यथावत् राख्ने भएको छ । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आफ्नो राष्ट्रले हमाससँग सम्बन्ध कायम राख्ने र दण्ड नदिने बताएको बीबीसीले जनाएको छ ।

संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री अनवरले अहिले इजरायलले हमासविरुद्ध गरिरहेको नरसंहारको सबैले खुलेर विरोध गर्नुपर्ने पनि बताएका छन् । अमेरिकी प्रतिनिधिसभाले गएको हप्ता हमास र प्यालेस्टिनी इस्लामिक जिहादका विदेशी समर्थकहरूलाई प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेपछि विपक्षी सांसदले अनवरलाई मलेसियाली सरकारको अडानबारे सोधेका थिए ।

प्रश्नको जवाफ दिँदै उनले अमेरिकाको कुनै पनि धम्की स्वीकार नगर्ने बताएको खबरमा उल्लेख छ । उनले आफ्नो देशले संयुक्त राष्ट्र सङ्घको महासभाले गरेको निर्णय मान्ने भन्दै प्यालेस्टिनको अस्तित्व समाप्त पार्ने कदम मान्य नहुने उल्लेख गरेका छन् ।

मुस्लिम बहुल राष्ट्र मलेसियाले लामो समयदेखि प्यालेस्टिनी मुद्दाको वकालत गर्दै आएको छ । मलेसियाले इजरायललाई कुटनीतिक रूपमा मान्यता दिएको छैन । अहिले इजरायलले गाजामा गरेको हमलाविरुद्ध दिनहुँजसो मलेसियामा प्रदर्शन हुँदै आएको छ ।

Comments

सम्बन्धित खवर