•  २४ बैशाख २०८१, सोमबार
  •  12:15:41 PM

परम्परागत बालीको विकल्प बन्दै किवी

- कार्तिक १४, २०८० मा प्रकाशित


भोजपुर । व्यावसायिक किवीखेती भोजपुरका किसानको रोजाइको बाली बनेको छ । एक पटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । परम्परागतरूपमा गरिने आलु तथा मकैखेतीभन्दा किवीखेतीबाट राम्रो आम्दानी लिन सकिने किसानले बताउने गरेका छन् ।

एक पटक रोपेपछि वर्षौसम्म आम्दानी लिन सकिने भएपछि किसान अन्य बाली हटाएर व्यावसायिक किवीखेतीमा लागेका छन् । विशेष गरेर पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिकाको ४ नम्बर नागीको लुङ्गिन, वडा नं ५ को मझौले, आमचोक गाउँपालिकालगायत ठाउँमा किसानले यसको व्यावसायिक खेती गरिरहेका छन् ।

टेम्केमैयुङ–४ नागीमा व्यावसायिकरूपमा नै खेती विस्तार भइरहेको स्थानीय कृषक नवीन राईले बताए । आफूले एक सय ५० भन्दा बढी बिरुवा लगाएर व्यावसायिकरूपमा खेती गरिरहेको उनको भनाइ छ । मकै फल्ने बारी मासेर धेरै किसान यसको व्यावसायिक खेतीमा लागेको राईले बताए ।

‘किवीखेती किसानको रोजाइको बाली बनेको छ’, उनले भने, ‘अन्य बाली हटाएर किवीखेती विस्तार भइरहेको छ । मकै, आलुखेतीभन्दा किवीबाट राम्रो आम्दानी लिने गरेको छु ।’ सुरुमा इलामबाट बिरुवा ल्याएर खेती सुरु गरेको उनले जानकारी दिए । किवी लगाएको ठाउँमा पाखे अलैँची र खोर्सानी समेत पनि खेती गर्न सकिने भएकाले दोहोरो फाइदा लिन सकिने राईले बताए । किवीखेतीबाट वार्षिक रु छ लाखसम्म आम्दानी लिने अपेक्षा रहेको बताए ।

टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका स्थानीय किसान एकराज विष्टले किवीको व्यावसायिक खेती गरिरहेको बताए । विष्टले करिब १० रोपनी क्षेत्रमा तीन वर्षअघिबाट किवीखेतीको विस्तार गरेको उनको भनाइ छ । ‘वैदेशिक रोजगारीबाट फर्केर व्यावसायिक किवीखेती गरिरहेको छु’, विष्टले भने, ‘राम्रो आम्दानी हुने भएपछि मैले व्यावसायिक खेती थालेको हुँ । फल लिनका लागि तीनदेखि चार वर्षसम्म लाग्छ । तर अन्य बालीको तुलनामा किवीखेतीबाट राम्रो आम्दानी लिन सकिन्छ ।’

टेम्केमैयुङ गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्ने कार्यक्रममार्फत कृषिको खेती विस्तारमा सहयोग गरिरहेको जनाएको छ । किसानलाई व्यावसायिक तथा आधुनिक खेतीमा लाग्न प्रोत्साहन गर्दै गाउँपालिकालाई कृषिमा नमूना बनाउने उद्देश्यका साथ काम गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । ‘गाउँपालिकाको कृषि र पर्यटनको विकासमा योजनाबद्धरूपमा कामको थालनी गरिरहेका छौँ’, उनले भने, ‘व्यावसायिकरूपमा कृषि कर्ममा लागेका स्थानीयलाई आवश्यक सहयोग गर्दै आएका छौँ । गाउँपालिकालाई कृषिमा नमूना बनाउने हाम्रो लक्ष्य छ ।’

किवीको राम्रो जातको पहिचान गरेर लगाएमा एक बोटबाट एक सयदेखि एक सय ५० केजीसम्म फलाउन सकिने स्थानीय कृषक रत्नबहादुर विष्टले बताए । पछिल्लो समय किवीखेती धेरै मानिसको रोजाइमा पर्ने बालीका रूपमा स्थापित भएको उनको भनाइ छ । गाउँघरका मानिस मकै, आलुखेती छाडेर व्यावसायिक किवीखेतीमा लागेको विष्टले बताए ।

किवी एक हजार पाँच सय मिटरदेखि दुई हजार चार मिटरसम्मको उचाइमा खेती गर्न सकिने किसानको भनाइ छ । व्यावसायिक खेतीमा लागेका किसानलाई सरकारले विषेश कार्यक्रम बनाएर प्रोत्साहन गर्न सके देशको आर्थिक विकासमा टेवा पुग्ने स्थानीय जानकारको भनाइ छ । यहाँको भौगोलिक विविधतालाई ध्यानमा राखेर माटोअनुसारको खेती विस्तारमा ध्यान दिन आवश्यक रहेको किसानको भनाइ छ ।

Comments

सम्बन्धित खवर