•  २४ बैशाख २०८१, सोमबार
  •  4:09:39 PM

चाडबाडको मुखैमा अत्याधिक बढ्यो पेट्रोलियम पदार्थको भाउ : ग्यास प्रतिसिलिण्डर २,११० पुग्यो

- आश्विन १४, २०८० मा प्रकाशित


काठमाडौँ । चाडबाडका बेला सहुलियत दिनु पर्ने बेला सरकारले पेट्रोलियम पदार्थ खाना पकाउने ग्यास र हवाई इन्धनको भाउ बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको भाउ बढाएको हो । निगमले पेट्रोल लिटरमा दुई रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको छ । त्यस्तै खाना पकाउने ग्यासको भने प्रतिसिलिण्डर दुई सय १५ रूपैयाँ बढेको छ । हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ एक सय ८२ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल एक सय ७६ रूपैयाँ ५० पैसा पर्नेछ ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ एक सय ८४ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल एक सय ७८ रूपैयाँ पर्नेछ । तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ एक सय ८५ रूपैयाँ प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल एक सय ७९ रूपैयाँ पर्नेछ ।

खाना पकाउने ग्यासको भाउ भने देशभर नै प्रतिसिलिण्डर २,११० रूपैयाँ पर्नेछ । त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा एक सय ७६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ७८ रुपैयाँ र तेस्रो वर्गमा एक सय ७९ रुपैयाँ प्रतिलिटर पर्नेछ ।

Comments

सम्बन्धित खवर