•  २७ बैशाख २०८१, बिहीबार
  •  7:03:57 AM

एसियाली खेलकुद : आयोजक चीन ५३ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

- आश्विन १०, २०८० मा प्रकाशित


हाङझाउ (चीन) । १९औं एसियाली खेलकुद, २०२२ अन्तर्गत मङ्गलबारसम्म ३३१ पदकको छिनोफानो भएको छ । मङ्गलबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ५३ स्वर्ण २९ रजत र १३ कास्यसहित ९५ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ ।

यस्तै दक्षिण कोरिया १४ स्वर्ण, १६ रजत, १९ कास्यसहित ४९ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको छ । जापान आठ स्वर्ण, २० रजत र १९ कास्यका साथ ४७ पदक प्राप्त गर्दै तेस्रो स्थानमा तथा उज्वेकिस्तान पाँच स्वर्ण, ६ रजत र ११ कास्यसहित २२ पदकका साथ पदक तालिकाको चौथो स्थानमा रहेको छ । यस्तै हङकङ चाइना पाँच स्वर्ण, चार रजत र १० कास्य सहित कुल १९ पदक प्राप्त गर्दै पाँचौँ स्थानमा रहेको छ ।

यसैगरी भारत तीन स्वर्ण, तीन रजत र ६ कास्यसहित १२ पदकका साथ छैटौँ स्थानमा छ । इन्डोनेसिया तीन स्वर्ण, एक रजत र पाँच कास्यसहित नौ पदकका साथ सातौँ, चाइनिज ताइपेई दुई स्वर्ण, तीन रजत र तीन कास्यसहित आठ पदक प्राप्त गर्दै आठौँ, थाइल्याण्ड दुई स्वर्ण र पाँच कास्यका साथ नवौँ तथा इरान एक स्वर्ण, चार कास्य र पाँच कास्य पदक प्राप्त गर्दै पदक तालिकाको १०औँ स्थानमा रहेका छन् ।

एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २९ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकबिहीन अवस्थामा छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन । सबैभन्दा आश गरेको जुडो, तेक्वान्दो, बक्सिङलगायत खेलबाट नेपालले हालसम्म पदक प्राप्त गर्न सकेको छैन ।

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत जुडो र रग्बीमा नेपालको यात्रा समाप्त भएको छ । मङ्गलबार पुरूष एक सय किलोमाथिको तौल समूहमा नेपालका रन्जेश गोले इप्पोनका आधारमा पराजित भए । उनलाई प्रिक्वार्टर फाइनलमा काजकिस्तानका खेलाडीले पराजित गरे । यस्तै महिला ७८ किलोमाथिको तौल समूहमा नेपालकी आकृति जोशी उज्वेकिस्तानकी खेलाडीसित इप्पोनकै आधारमा पराजित भइन् । जुडोमा नेपालबाट पुरूषतर्फ चार तथा महिलातर्फ चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

रग्बीमा नेपाल सबै खेलमा पराजित भएको छ । रग्बी सेभेन्समा नेपालको पुरुष टोली सबै खेलमा पराजित भयो । मङ्गलबार भएको खेलमा नेपाल ओसिए इन्डिपेन्डेन्ट एथ्लेटिक टोलीसित ६८–० अंकले पराजित भएको हो । प्रतियोगितामा नेपाल आफ्ना सबै ६ खेलमा पराजित भयो । समूह डी मा रहेको नेपाल समूह चरणमा युएई, चीन, अफगानिस्तान, थाइल्याण्ड र फिलिपिन्ससित पराजित भएको थियो ।

यसैगरी तेक्वान्दोमा पनि मङ्गलबार प्रतिस्पर्धा गरेका तीन नेपाली खेलाडी आ आफ्नो स्पर्धामा पराजित भए । नेपालका गोविन्दबहादुर आले पुरूष ६३ किलोमुनिको तौल समूहमा प्रिक्वार्टर फाइनलमा पराजित भए। उनी प्रिक्वार्टर फाइनलमा थाइल्यान्डका खेलाडीसित २–० अंकले पराजित भए । यस्तै आजै भएको महिला ५३ किलोमुनिको तौल समूहमा नेपालकी आयषा लामा दक्षिण कोरियाका खेलाडीसित पराजित भइन् । महिला ५७ किलोमुनिको तौल समूहमा सन्ध्याकुमारी सिंह पनि पराजित भइन् । तेक्वान्दोका चार खेलाडी यसअघि नै प्रतियोगिताबाट बाहिरिएका थिए ।

Comments

सम्बन्धित खवर