एसिया कप क्रिकेट : नेपाल आज भारतसँग खेल्दै
- भाद्र १८, २०८० मा प्रकाशित
काठमाडौँ । एसिया कप क्रिकेटमा नेपालले आज (सोमबार) भारतसँग खेल्दैछ । खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा हुनेछ । आजको खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ । समूह ‘ए’ मा रहेको पाकिस्तान भने सुपर फोरमा पुगिसकेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको करिब २७ वर्षपछि नेपालले भारतसँग पहिलो पटक खेल्ने मौका पाएको हो । त्यस्तै एसिया कपमा नेपालको यो पहिलो सहभागिता पनि हो । नेपालले सन् २०१७ मा भने भारतको यू–१९ टोलीसँग खेलेको थियो । मलेसियामा भएको उक्त यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक नतिजा हात पारेको थियो । अब नेपालले सिनियर टोलीमा पहिलो पटक भारतसँग खेल्दै नयाँ इतिहास कायम गर्नेछ ।
समूह ‘ए’ मा रहेका नेपाल र भारतले समान एक–एक खेलका छन् । उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो भने भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्द भएको थियो । समूह ‘ए’ मा पाकिस्तान शीर्ष स्थानमा छ । त्यस्तै, भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ । पाकिस्तान सुपर फोरमा पुगिसकेको छ । भारतको एक खेलमा एक अङ्क छ । एक खेल खेलेको नेपाल अङ्कविहीन छ ।
यसैबीच, भारतीय तीव्र गतिका बलर जसप्रित बुमराहले एसिया कप अन्तर्गत आज नेपालसँगको खेल गुमाउने भएका छन् । बुमराह व्यक्तिगत कारणले श्रीलङ्काबाट भारत प्रस्थान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । समूह चरणको अन्तिम खेलमा नेपाल विजयी भएमा एसिया कपको सुपर फोरमा पुग्नेछ । अन्यथा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।
समूह ‘बी’मा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा स्थान बनाउनेछन् । सुपर फोरबाट शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुल्शन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन् ।
सम्बन्धित खवर
-
ताजा बैशाख २६, २०८१Melhores Sites Para Arriesgar Em Futebol 202
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
-
ताजा बैशाख १८, २०८१इलाम-२ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत
Comments