•  २७ बैशाख २०८१, बिहीबार
  •  8:04:36 PM

सन्दीप लामिछानेविरुद्ध मुद्दाको आज पेसी

- भाद्र १०, २०८० मा प्रकाशित


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतमा आज (आइतबार) पेसी रहेको छ । लामो समयदेखि पेसी चढ्ने, तर आदेश गरेर सर्दै आएको मुद्दामा काठमाडौं जिल्ला अदालतले आइतबार फैसला केन्द्रित सुनुवाइ गर्ने अपेक्षा गरिएको छ । यसअघि सन्दीपको मुद्दामा गत बिहीबार (साउन ३२ गते) मुद्दामाथि सुनुवाइ भएको थियो । उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरी (गौशाला २६) की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको थियो ।

पीडित किशोरीकी आमाको जन्ममिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि अदालतले जन्ममिति प्रमाणीकरण गर्न भनेको हो । न्यायाधीश खतिवडाको साउन ३२ गतेको इजलासले मुद्दाको नियमित सुनुवाइ गर्ने निर्णय समेत गरेको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो । १८ वर्षभन्दा कम उमेरकी किशोरीमाथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ । सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ ।

उक्त कसुरअन्तर्गत १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।सन्दीपविरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदाबी गरिएको छ । १७ वर्षकी एक किशोरीले आफूमाथि काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत भदौ २१ गते प्रहरी वृत्त गौशालमा जाहेरी दिएकी थिइन् ।

पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरको नगरकोटसमेत पु¥याएको र फेरि फर्काएर काठमाडौं ल्याइ एक होटलमा राखेर बलात्कार गरेको बताएकी थिइन् । पीडित किशोरीको बयानअनुसार भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले बलात्कार गरेको दाबी अभियोगपत्रमा गरिएको छ ।

सोही राति १२ बजेर २५ मिनेटमा पनि सन्दीपले आफूलाई बलात्कार गरेको ती किशोरीको बयान छ । आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएपछि प्रहरीले पीडित किशोरीको स्वास्थ्य जाँच समेत गराएको थियो । पीडित भनिएकी किशोरी र सन्दीप सामाजिक सञ्जाल ‘स्न्याप च्याट’ मार्फत् नजिकिएका थिए । स्न्याप च्याटमार्फत् चिनजान भएर नजिकिएको केही समयपछि सन्दीपले नै ती किशोरीसँग भेट गर्ने प्रस्ताव राखेर उनलाई लिन गाडी लिएर पुगेको बताइएको छ।

आफ्नो कारमा राखेर सन्दीपले ती किशोरीलाई भदौ ५ गते ६ बजेतिर काठमाडौंबाट भक्तपुरतिर लगेको बताइएको छ। त्यसपछि आफूहरु नगरकोटसम्म पुगेको पीडित किशोरीले बताएकी छन्। नगरकोटमा सन्दीपले मदिरा सेवन गरेको र त्यहाँबाट फेरि काठमाडौं फर्किएको किशोरीको भनाइ छ।

काठमाडौं आइसक्दा रातिको ११ बजिसकेको र होस्टल (छात्राबास) बन्द हुने भन्दै एक होटलमा कोठा बुक गरेर उनीहरु बसेका थिए । सोही होटलको कोठा नम्बर ३०५ मा सन्दीपले आफूमाथि बलात्कार गरेको पीडित किशोरीले बयानका क्रममा बताएकी छन् । उक्त घटनालगत्तै क्रिकेट खेल्न विदेश पुगेका सन्दीप नर्फिकएपछि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत् डिफ्युजन नोटिस नै जारी भएको थियो । त्यसपछि सन्दीप असोज २० गते नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ परेका थिए ।

प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर उनीमाथि बलात्कारको अनुसन्धान अघि बढाइएको थियो । मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश सुनाएको थियो । जिल्ला अदालतको आदेशपछि केही महिना थुनामा बसेका सन्दीप उच्च अदालत पाटनको आदेशपछि सर्तसहित थुनामुक्त भएका थिए । यद्यपि विदेश जान नपाउने उच्च अदालतको शर्त सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । उच्च अदालतको आदेशपछि थुनामुक्त भएर क्रिकेट टिममा फर्किएका सन्दीप सर्वोच्चको आदेशपछि क्रिकेट खेल्नका लागि विदेश समेत पुगेका थिए ।

Comments

सम्बन्धित खवर