•  २७ बैशाख २०८१, बिहीबार
  •  8:22:11 AM

नेपाली बक्सर ‘हिमालय चितुवा’ ले जापानमा जिते उपाधि

- भाद्र ३, २०८० मा प्रकाशित


काठमाडौँ । नेपालका अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानको टोकियोमा आयोजित ‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसीप’ को उपाधि जितेका छन् । शनिबार दक्षिण कोरियाली खेलाडी चाङ ओन याङलाई हराउँदै उनी च्याम्पियन बनेका हुन् ।

‘हिमालय चितुवा’ का रुपमा विश्व प्रसिद्ध घिमिरेले दक्षिण कोरियाली खेलाडी याङलाई किक बक्सिङ प्रतियोगितामा नकआउट गरेका थिए । सो प्रतियोगितामा भिड्ने घिमिरे पहिलो नेपाली बक्सर हुन् । प्रतियोगिताको पुरुष स्पर्धामा घिमिरेले एक मिनेट ५५ सेकेण्डमै प्रतिद्वन्द्वी याङलाई रिङमा ढालेका थिए । जापानमा रहेर किक बक्सिङको व्यवसायिक खेल खेल्दै आएका बक्सर घिमिरेले बक्सिङ हिट प्रतियोगिताका १३ खेल जितिसकेका छन् । उनले तीन पटक टाइटल म्याचको उपाधि नित्न सफल भएका छन् । घिमिरेले हालसम्म जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्डलगायत देशका बक्सरलाई पराजित गरिसकेका छन् । उनी अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा नेपालको पहिचान बनाउन सफल भएका छन् ।

घिमिरे जापानको नागोयामा सहरमा आफ्ना पिता पूर्व अन्तर्राष्ट्रिय किक बक्सर तथा फुल कन्ट्याक कराँते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आएका छन् । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूवासी घिमिरेको परिवार केही वर्षदेखि जापानको नागोयामा बस्दै आएको छ ।

Comments

सम्बन्धित खवर