•  ३ जेष्ठ २०८१, बिहीबार
  •  10:01:52 PM

सर्लाहीमा मोहरम पर्व मनाउने क्रममा झडप, ६ प्रहरीसहित १० जना घाइते

- श्रावण १४, २०८० मा प्रकाशित


सर्लाही । सर्लाहीको गोडैतामा शनिबार साँझ दुई समूहबीच झडप हुँदा प्रहरीसहित १० जना घाइते भएका छन् । झडपमा ६ प्रहरी र ४ स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए । गोडैता बजारमा स्थानीय मुस्लिम समुदायले ताजिया मोहरम पर्व मनाउने क्रममा दुई समूहबीच उत्पन्न विवादले झडपको रुप लिएको प्रहरीले जनाएको छ ।

डीएसपी पञ्जियारका अनुसार मुस्लिम समुदायले दाहा घुमाउन लैजाने क्रममा हिन्दु समुदायका केही स्थानीयले आफ्नो गाउँको बाटोबाट लैजान अवरोध गरेपछि झडपको स्थिति सिर्जना भएको हो । दुई समूहबीचको झडप रोक्ने क्रममा प्रहरीले २६ सेल अश्रु ग्यास प्रहार र १६ राउन्ड हवाइ फायर गरेको छ । ढुंगा प्रहारबाट ६ प्रहरी र चार स्थानीय घाइते भएका डीएसपी पञ्जियारले बताए ।

ढुंगा लागेर गम्भीर घाइते भएका स्थानीय राजेश पटेलको हाल प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । झपडमा घाइते भएका ६ प्रहरी र तीन स्थानीय उपचारपछि डिस्चार्ज भइसकेका छन् । झडपका क्रममा दुवै पक्षले इँटा, ढुंगा र सिसाका बोतल प्रहार गरेका थिए ।

झडप नियन्त्रणमा लिन शनिबार साँझ ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । थप झडप हुन नदिन गोडैता बजारमा अहिले पनि प्रहरी परिचालन गरिएको डीएसपी पञ्जियारले बताए । अहिलेसम्म घटनामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गरेको छैन । दुई समुदायबीच थप मनमुटाव र झडप हुन नदिन दुवै पक्षलाई राखेर छलफल गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर